धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले आइतबार संघ, प्रदेश र स्थानीय तहका विषय समन्वय र सहजिकरणका बारेमा मुख्यमन्त्रीसँगको उपस्थितीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । जसमा जिल्लाका सबै पालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, सरकारी कार्यालयका प्रमुखहरु, पालिकाका अन्य प्रतिनिधि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उपस्थित सबैजसो पालिका प्रमुख र उपप्रमुखहरुले आआफ्ना पालिकाका समस्या र काम गर्दाका अप्ठ्याराबारे वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग गुनासा राखेका थिए । धेरैजसोको एउटै आवाज थियो, ‘प्रदेशले समयमै बजेट पालिकाहरुलाई पठाउनु पर्यो । आफ्नो भूमिका देखाउनु पर्यो, प्रदेश नाम मात्रको जस्तो हुनु भएन । नागरिकका गुनासा सुनेर कार्यान्वयन गर्नुपर्यो ।’

कार्यक्रमको शुरुमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विपद्का समयमा आफूहरुले नागरिकका समस्या समाधानमा रातदिन नभनी काम गरेको र यसकै लागि प्रदेशले दिने भनिएको बजेट समयमै विनियोजन नहुँदा बाँकी काम गर्न समस्या भएको गुनासो राख्दै बजेटलाई यथाशिघ्र पालिकामा पठाउन अनुरोध गर्नुभयो । बनेपाका प्रमुख शान्तिरत्न शाक्यले पनि विपद्ले पालिकामा धेरै समस्याहरु आएका भन्दै विशेषगरि खानेपानीको विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

यस्तै खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले आफ्नो पालिका हरेक दृष्टिकोणबाट पीछडिएको भन्दै जिल्ला र प्रदेशले पनि बेवास्ता गरेको गुनासो राख्दै बाढीपहिरोले बगाएको सडक पुनःनिर्माणमा कहिले ध्यान दिने हो भन्दै प्रश्न गर्नुभयो । गतवर्षको बाढीले पुल बगाएको जानकारी दिँदै यसको निर्माण शुरु गर्न ध्यानाकर्षण गराउनुभयो । भुम्लुका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिकामा खानेपानीको समस्याका बारेमा जानकारी गराउनुभयो । उहाँले भुम्लुलाई डढेलोमुक्त पालिका बनाएको स्मरण गराउँदै बागमती प्रदेशलाई नै डढेलोमुक्त प्रदेश बनाउनु पर्नेमा जोड दिनुभयो ।

नमोबुद्धका मेयर कुन्साङ लामाले रोशीले बगाएको थान्सिङको पुल बनाउन धेरै आश्वासन आएको भए पनि अहिलेसम्म ठोस काम हुन नसकेको बताउनुभयो । उहाँले यो पुल नहुँदा ५ वटा पालिका र रोशीको कटानले बीपी राजमार्गलाई पनि ठूलो समस्या भएको स्मरण गराउँदै यथाशिघ्र काम शुरु गराउन माग गर्नुभयो । यस्तै पाँचखालका मेयर महेश खरेलले पाँचखालमा निर्माण हुन लागेको हरित महिला औद्योगिक ग्रामले एक हजारभन्दा बढी महिलालाई रोजगारी दिनसक्ने भएकाले यसको निर्माणमा सामाजिक विकास मन्त्रालय र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

चौंरीदेउरालीकी अध्यक्ष रेणुका चौंलागाईंले आफ्नो पालिका काभ्रेको दोस्रो कर्णालीको रुपमा चिनिने भन्दै पालिकाका धेरैजसो वडाहरु सुख्खाग्रस्त भएकाले खानेपानी र सिंचाईको समस्या समाधानका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । दुईवटा पालिका जोड्ने खहरेघाटको पुल तथा अन्य सडकहरु अस्तव्यस्त भएकाले यसमा पनि प्रदेशले काम शुरु गराउनुपर्नेमा जोड दिनुभयो । उता मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाले सबै पालिकामा समस्या भएकाले प्राथमिकता हेरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले इन्द्रावती नदी काभ्रे र सिन्धुपाल्चोकको सीमा भएकाले यहाँ कुन जग्गा कता पर्छ भनेर सीमा समस्या भएकाले सिमांकन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशका योजनाहरुको अनुगमन कसले गर्ने भन्दै प्रश्न गर्नुभयो । बनेपाकी उपप्रमुख बिमला सापकोटा दाहालले पनि बनेपाका समस्याहरुका बारेमा जानकारी गराउनुभयो ।

महाभारतका अध्यक्ष कान्छालाल जिम्बाले विगतमा पनि मुख्यमन्त्रीहरु आए तर विपदमा परेका नागरिकलाई प्रदेश सरकारले केही काम गरेन भन्दै कुरा भन्दा धेरै काम गरेर देखाउन सुझाव दिनुभयो । उहाँले बजेट कार्यकर्तालाई पोस्ने प्रक्रिया तुरुन्तै रोक्न आग्रह गर्दै प्रदेश संरचना खारेजको माग उठेको भन्दै यसको कारण के हो, पहिल्याएर काम गर्न सुझाव दिनुभयो ।

धुलिखेलका उपप्रमुख निराजन जंगमले एउटै योजनामा शिर्षक दोहोरिएको तर काम भने एउटाको पनि नभएको भन्दै गाउँमा पुगेका साना नै भए पनि योजना नकाट्न आग्रह गर्नुभयो । खानीखोलाका उपाध्यक्ष दोर्जेमान जिम्बाले खोपासी–तालढुंगा सडक ५० किलोमिटर भए पनि यात्रा गर्न ५ घण्टाको समय लाग्ने अवस्था औंल्याउँदै ३० वर्षदेखि सडक निर्माण अधुरो रहेकाले यसतर्फ प्रदेशले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकलाई सहज तरिकाले सेवा प्रदान गर्न सबै पालिकाहरुलाई आग्रह गर्नुभयो । उहाँले यसका लागि सहयोग र सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय सधैं तयार रहेको उल्लेख गर्नुभयो ।

सबैका समस्या र गुनासा सुनेपछि वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले कुनैबेला समन्वय समिति नराख्ने आवाज उठेको प्रसंग स्मरण गराउँदै अहिले आएर आवश्यकता महसुस गरेको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालय माताहतका योजनाहरुमा आवश्यक बजेट कसरी विनियोजन गराउने भन्नेमा आफू सधैं लागिरहेको बताउँदै योजना कार्यान्वयन र सहजीकरणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले क्षमता विकास र प्रविधिलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले अब बन्ने प्रदेश सरकारको बजेट प्रदेश सदस्यले ल्याएका योजनामा केन्द्रीत हुने र कसैका झोलाबाट आएका योजनामा बजेट नछुट्याउने प्रष्ट पार्नुभयो । उहाँले नागरिकका आवश्यकताका आधारमा बजेट ल्याइने र ५० लाखसम्मका योजनालाई प्रदेश सरकारले नहेर्ने जानकारी दिँदै एक करोडभन्दा बढीका योजनालाई मात्र सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले टुक्रे योजना अब काटिने बताउँदै सरकारले प्राथमिकतामा राखेर काम अघि बढाउने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *