सिन्धुपाल्चोक । श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं जन्मजयन्ती तथा २७ औं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)ले विद्यालयको विकासको लागि आफ्नो तर्फबाट सधैं पहल गर्ने बताउनुभयो । उहाँले विद्यालयको समस्या समाधानका लागि आफू निरन्तर लागिरहेको भन्दै आफू बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले विद्यालय शिक्षामा लगानी गर्नका लागि आफूले खबरदारी गरिरहेको बताउनुभयो । मञ्चमा आउने बोल्ने र कामको नाममा सिन्को नभाँच्नेहरुले विद्यालय शिक्षामा लगानी नगरेको उहाँले बताउनुभयो ।
खानेपानी, शिक्षा, स्वास्थ्य, सडकको अवस्था हेलिकप्टरमा हिँड्नेलाई थाहा नहुने भन्दै उहाँले आफू सरकारमा नभएका कारण सिन्धुबासीको पीडा बागमती प्रदेश सरकारसम्म पुग्न नसकेको बताउनुभयो । यो देशको विकास र समृद्धिको लागि आफ्नो धर्मको संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विद्यालयमा ज्ञान मात्र नभएर शिक्षा, संस्कार र संस्कृति पनि सिक्ने भएको हुँदा विद्यालयलाई विद्याको मन्दिरको रुपमा पुज्ने गरेको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षामा उल्लेख्य प्रगति गरेको बताउँदै आगामी बजेटमा पनि विद्यालयको भौतिक तथा सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उपप्रमुख प्रधानले तीन तहको सरकारको समन्वयमा नगरपालिकाभित्र संचालन भएका विद्यालयहरु समुदायको अवस्था हेरेर दरबन्दी सिर्जना गरेर आवश्यक परेमा राहत शिक्षकसमेत राखेको प्रष्ट पार्नुभयो ।
उपप्रमुख प्रधानले नगरपालिकाले लगानी गरे अनुसार उचित नतिजा प्राप्त नगरेकाले यसलाई अझ उत्कृष्ट पार्दै नतिजा हासिल गर्न सम्पूर्ण अभिभावक र विद्यार्थीको भूमिका हुने बताउनुभयो । उहाँले यो भेगलाई सहज हुने गरि स्वास्थ्यचौकी, क्याम्पस तयारी अवस्थामा रहेकाले छिटै बाँकी कामका लागि आवश्यक खर्च ब्यवस्थापन गरेर सुचारु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडानम्बर ४ का अध्यक्ष सन्जीव तामाङले सिन्धुभ्याली क्याम्पसले सिन्धुबेल्टको प्रतिनिधित्व नगर्ने बताउनुभएको छ । काठमाडौँको सीमामा रहेको क्याम्पसको नाम नै भोटेचौर क्याम्पस राख्न चुनौती दिनुभयो । आज कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको बार्षिकोत्स्व कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले क्याम्पसको नाम नै परिवर्तन गर्न सुझाव दिनुभएको हो । उहाँले सिन्धुबेल्टका विद्यार्थीलाई समेट्ने गरी सेण्टरमा क्याम्पस राख्न जोडदार माग गर्नुभयो ।
विद्यार्थी काठमाडौँ पलायन भए भन्ने अनि किन पलायन भए भनेर कारण नखोजिँदा अहिले विद्यार्थीले निर्धक्क पढ्न नपाएको उहाँले बताउनुभयो । अध्यक्ष तामाङले क्याम्पसको परीक्षा यहीँ हुने गरी नितिगतरुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । स्वास्थ्यचौकी र हस्पिटल छुट्टाछुट्टै भएकाले पिप्लेको स्वास्थ्य चौकी यथास्थानमा राख्न आफू जस्तोसुकै परिस्थितीसँग जुध्न तयार रहेको बताउनुभयो । नगर अस्पताल संचालन गर्ने कुरा खुशीको कुरा भएपनि स्वास्थ्यचौकी सार्ने कुराले अहिले आफ्नो नगरपालिकासँग मनमुटाव सिर्जना भएको समेत अध्यक्ष तामाङले उद्घोष गर्नुभयो । उहाँले भोलिका दिनमा आफूले बोलाएको अवस्थामा सडकमा उत्रिनसमेत आह्वान गर्नुभयो ।
विद्यालयले भब्य कार्यक्रम गरेकाले कार्यक्रम सफल बनाउन लागिपर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै उहाँले विद्यालयको छात्राबास निर्माण, खेलमैदान, विद्यालयको वरिपरि पक्की वाल निर्माण गर्नुपर्ने भएकाले नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । वडाको मात्र बजेटले नपुग्ने भएकाले नगरपालिका, प्रदेश र अन्य निकायलाई ध्यानाकर्षण गर्नुपरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कँडेलको टिमले आफ्नो प्रस्तुति प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बद्री चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *