सिन्धुपाल्चोक । विवादको साटो मेलमिलापको बाटो न्यायिक तथा कानुनी साक्षरतासम्बन्धी कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । न्यायिक समिति मेलम्ची नगरपालिकाको आयोजना भएको २ दिने तालिमलाई समापन गर्दै नगरपालिकाका उपप्रमुख उमा प्रधानले हिजोका विवाद र आजको विवाद फरक फरक हुने भएकाले यस्ता तालिम अपरिहार्य भएको बताउनुभयो ।
मानिसका मानसिक पीडाहरुलाई मलमपट्टी लगाउने काम मेलमिलापकर्ताहरुले गर्ने भएकाले सरकारले स्थापित गर्नुपर्ने बताउनुभयो । प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले समाजलाई शान्त र सरल बनाउन मेलमिलापकर्ताहरुको भूमिका अहम हुने बताउनुभयो । दुवै जनाको जित हुने गरी विवाद मिलाउने गर्नाले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले अझै राम्रो काम गर्न समेत सुझाव दिनुभयो ।
सहभागी मेलम्ची २ का कुमार चौलागाईंले तालिम उपलब्धी र जानकारी मुलक भएको बताउनुभयो । उहाँले कानुनी साक्षरता, नियम, कानुनका ब्यवस्था लगायतका विषयमा मसिनो ढंगले छलफल गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यस्तै सहभागी मेलम्ची ११ का सानुमैया पण्डितले संविधान, कानुन, मुद्दा, मुद्दाका प्रकार लगायतका बारेमा उपलब्धीमुलक छलफल भएको बताउनुभयो । संविधानका धारा, उपधारा, दफा, अनुसूची लगायतका बारेमा जानकारी पाइएको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रत्येक वडाबाट न्यायिक सम्पर्क ब्यक्ति र मेलमिलाप संयोजक गरि २६ जनाको उपस्थिती रहेको नगरपालिकाका न्यायिक सहजकर्ता अस्मिता अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा अधिवक्ता उद्ववप्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित ‘न्यायिक समितिको सारथी’ नामक किताबसमेत सहभागीलाई वितरण गरिएको थियो ।
