काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि योग्य मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ । शनिबार आयोगले एक विज्ञप्ति जारी गर्दै अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।
प्रकाशित अन्तिम मतदाता नामावलीमा कूल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएका छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० जना रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ ।
आयोगले मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरिएको जनाएको छ ।
सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली वेबसाइट www.election.gov.np मा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।

काभ्रेमा १४ हजार २९५ मतदाता थपिए, कूल संख्या ३ लाख २६ हजार ६११ पुग्यो

धुलिखेल । काभ्रेमा १४ हजार २९५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार गत असोज १० देखि मंशिर ३० गतेसम्म सो संख्यामा मतदाता थपिएका हुन् ।
जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएको थियो । अहिले पनि सोही संख्यामा क्षेत्रहरु छन् । ३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको काभ्रेपलाञ्चोक जिल्लामा गत असोज १० गतेसम्म ३ लाख १२ हजार ३ सय १६ मतदाता थिए । जसमा पुरुषको संख्या १ लाख ५९ हजार २०५, महिलाको संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेको तथ्यांक थियो ।
त्यसयता नयाँ तथ्यांक अनुसार कुल संख्या ३ लाख २६ हजार ६११ पुगेको हो । जसमा पुरुषको संख्या १ लाख ६७ हजार ४९९, महिलाको संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् ।
पुस १२ गते निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार काभ्रेपलाञ्चोक जिल्लामा आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरुले २१ गते हुने निर्वाचनमा भाग लिन सक्नेछन् ।
सरकारले निर्वाचन घोषणा गरेयता जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम लेखाउन फोटो खिचाउनेको भीड बढेको थियो । असोज १० गते १९ जनाको फोटो खिचाइएको थियो । यो अवधिमा सबैभन्दा धेरै कात्तिक २५ गते एकै दिन ४६५ जनाको फोटो खिचाइएको थियो ।
जिल्लामा ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका, १ सय ३५ वडा रहेका छन् । जिल्लामा हाल १ सय ९० वटा मतदानस्थल र ३ सय ८९ वटा मतदान केन्द्र कायम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *