श्याम शर्मा एल.सि.

सिन्धुपाल्चोक, हेलम्बु । नेपालका वनजंगलमा पाइने साना हरिण प्रजातिहरू मध्ये एक महत्वपूर्ण प्रजाति भुक्ने मृग (रतुवा मृग) को अत्यन्त दुर्लभ अल्बिनो अवस्था हाल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका क्षेत्रमा देखिएको छ । सेतो रङको रतुवा मृग देखिएको हो ।

हेलम्बु गाउँपालिका वडा नं. १ को दोरिङ क्षेत्रमा इ. मिनेस गुरुङ र श्यामसुन्दर लामिछानेले अल्बिनो रतुवा मृग देखेपछि तस्बिरसमेत खिचेका छन् । त्यसैगरी वडा नं. ४ अन्तर्गत मराम्ची गाउँस्थित छायाँ खोला सामुदायिक वन क्षेत्रमा पनि यस्तै दुर्लभ प्रजातिको एक जोडी देखिएको जानकारी उक्त वनका सचिव लोकमान तामाङले दिनुभएको छ ।

स्थानीय बासिन्दाका अनुसार ती मृगहरू गत वर्षदेखि वन क्षेत्रमा देखिँदै आएका छन् र घाँस–दाउरा संकलन गर्न जाने क्रममा मानिसहरूले चर्दै गरेको अवस्थामा देख्ने गरेका छन् ।सामान्यतया खैरो वा रातो रङको हुने रतुवा मृग अत्यन्त दुर्लभरूपमा मात्र अल्बिनो अवस्थामा देखा पर्छ । विज्ञहरूका अनुसार अल्बिनिज्म शरीरमा रङ दिने मेलानिन नामक तत्वको कमीका कारण हुने आनुवंशिक अवस्था हो, जसका कारण जनावर सेतो वा अत्यन्त फिक्का रङको देखिन्छ ।

रतुवा मृग (Muntiacus vaginalis) हरिण परिवार Cervidae अन्तर्गत पर्ने सानो हरिण हो। नेपालमा यो तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका घना वन, झाडी र घाँसे वनस्पतियुक्त भू–भागमा पाइन्छ । पात, टुसा, फलफूल र घाँस खाने यो प्रजातिले वनको झाडी व्यवस्थापन, बीउ फैलाउने प्रक्रिया तथा समग्र वन पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछ । साथै, चितुवा र बाघजस्ता मांशाहारी जनावरहरूको आहार शृङ्खलामा समेत यसको योगदान उल्लेखनीय रहेको विज्ञहरूको भनाइ छ ।

अल्बिनो अवस्थामा रहेका रतुवा मृग भने सामान्य रङ भएका मृगको तुलनामा अत्यन्त जोखिममा रहने गर्दछन् । सेतो रङका कारण वन परिवेशमा सजिलै देखिने हुँदा शिकारी जनावरको आक्रमण तथा अवैध शिकारको खतरा बढी हुन्छ । त्यसैले यस्तो दुर्लभ जनावरको उपस्थितिलाई केवल हेर्ने विषय मात्र नभई तत्काल संरक्षणका उपाय अपनाउनुपर्ने आवश्यकता देखिएको छ ।

हेलम्बु क्षेत्रमा अल्बिनो रतुवा मृग देखिनु केवल दुर्लभ जैविक घटना मात्र नभई पर्यावरणीय र जलवायु परिवर्तनसँग सम्बन्धित संकेत पनि हुन सक्छ । पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि, अनियमित वर्षा, वनस्पतिको स्वरूपमा आएको परिवर्तन र मानव गतिविधिको विस्तारका कारण वन्यजन्तुहरूको बासस्थान तथा विचरण क्षेत्रमा परिवर्तन देखिन थालेको पनि हुन सक्छ ।

संरक्षणको दृष्टिले रतुवा मृग अन्तर्राष्ट्रियरूपमा “Least Concern” सूचीमा रहे पनि नेपालमा भने यसलाई संवेदनशील (Vulnerable) प्रजातिका रूपमा लिइन्छ । हेलम्बुमा देखिएको अल्बिनो रतुवा मृगले नेपालको जैविक विविधता कति समृद्ध छ भन्ने पुष्टि गर्नुका साथै स्थानीय तह, समुदाय र सरोकारवाला निकायले वन्यजन्तु संरक्षणमा अझ जिम्मेवार भूमिका खेल्नुपर्ने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको भनाइ छ ।

(लेखकः श्याम शर्मा एल.सि विपद् जोखिम न्यूनीकरण तथा जलवायु अभ्यासकर्ता हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *