कुन्तावेँसी । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडानम्बर ९ जिताउरी पोखरीमा नव प्रतिभा इङ्लिस बोडिङ स्कुल कुन्तावेँसीको विद्यार्थी बोक्ने भ्यान बुधबार बिहान दुर्घटना भएको छ ।
बा १ ज ८६७२ नम्बरको भ्यान ब्रेक फेल भई सडकबाट अन्दाजी ६ मिटर दायाँतर्फ घरमा ठक्कर खाई दुर्घटना हुँदा चालक मण्डनदेउपुर नगरपालिका ७ बस्ने वर्ष २४ की दिपिका ढकाल घाइते भएकी छिन् । अरु पाँच जना विद्यार्थीलाई भने सकुशल उद्धार गरिएको छ ।
दुर्घटनाको खबर पाउनासाथ प्रहरीचौकी हिँगुवापाटीबाट गएको प्रहरी टोली घटनास्थल पुगेको थियो । साथै घाइते चालक घरमा च्यापिएको हुँदा झिक्न नसकिएपछि प्रहरीचौकी पाँचखालबाट प्रहरी निरिक्षक प्रशान्त तामाङको कमाण्डमा ५ जना र १५ नम्बर गण हेडक्वाटर पाँचखालबाट सशस्त्र प्रहरी सहायक निरिक्षक भरत न्यौपानेको कमाण्डमा ७ जनाको टोली घटनास्थल गई जेसिबीको सहायताले घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घाइते चालक ढकाललाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको र उनको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ ।
