सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा ६ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । सो राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्म ६ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

मन्त्रालयले माघ मसान्तसम्म कुल आठ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । सात महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८१.४३ प्रतिशत मात्र प्रगति हासिल भएको छ । सरकारले चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपियाँ कुल राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा माघसम्म सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४४.९३ प्रतिशत छ ।
यस्तै सरकारले भन्सार महसुलतर्फ एक खर्ब ७० अर्ब ५० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा एक खर्ब ३५ अर्ब ३२ करोड रुपियाँ मात्र सङ्कलन भएको छ । यो लक्ष्यको ७९.३७ प्रतिशत मात्र हो ।

यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ माघसम्म दुई खर्ब १७ अर्ब २१ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकामा एक खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रुपियाँ सङ्कलन भएको छ । गत वर्ष सोही अवधिमा एक खर्ब ८२ अर्ब ६० करोड रुपियाँ सङ्कलन भएको थियो । भ्याट अन्तर्गत उत्पादन, बिक्री र सेवामा ७.८० प्रतिशत र पैठारीतर्फ ७.४२ प्रतिशतको वृद्धि भएको अर्थ मन्त्रालले जनाएको छ ।

यस्तै माघसम्म एक खर्ब १५ अर्ब ९८ करोड ७७ लाख रुपियाँ अन्तःशुल्क सङ्कलन गर्ने लक्ष्य रहेकामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँ सङ्कलन भएको छ । गत वर्षको माघ मसान्तसम्म ९५ अर्ब नौ करोड रुपियाँ सङ्कलन भएकोमा यस वर्ष १०.८८ प्रतिशतले वृद्धि भई एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँ पुगेको हो ।

आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कमा १०.०५ प्रतिशत र पैठारीतर्फ १३.१४ प्रतिशतको वृद्धि भएको मन्त्रालयले जनाएको छ । आयकर र अन्य राजस्व (गैरकर) मा भने गिरावट देखिएको छ । आयकरतर्फ गत वर्ष माघ मसान्तसम्म एक खर्ब ५९ अर्ब ९६ करोड रुपियाँ सङ्कलन भएकामा ०.८१ प्रतिशतले घटेर एक खर्ब ५४ अर्ब ६६ करोड रुपियाँ सङ्कलन भएको छ । माघ मसान्तसम्म आयकरको लक्ष्य दुई खर्ब २० अर्ब सात करोड ५४ लाख रुपियाँ थियो ।

विभागीयरूपमा हेर्दा भन्सार विभागले माघ मसान्तसम्म दुई खर्ब ७८ अर्ब ४२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा ८.०४ प्रतिशतले बढी हो । भन्सारलाई यो अवधिमा तीन खर्ब ३२ अर्ब ११ करोड उठाउने लक्ष्य दिइएको थियो । यो सङ्कलन लक्ष्यको ८३.८४ प्रतिशत हो । यसरी हालसम्मको अवस्था हेर्दा राजस्व सङ्कलन सन्तोषजनक मात्र देखिन्छ । लक्ष्य अनुसार सङ्कलनका लागि अझै धेरै काम गर्नु पर्ने आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *