भकुण्डेवेँसी । गत माघ १९ गतेदेखि २७ गतेसम्म काभ्रेको नमोबुद्ध नगरपालिका वडानम्बर ३ दाहालचौरमा आयोजित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै धार्मिक महोत्सव मुल समारोह समितिले आयव्यय विवरण सार्वजनिक गरेको हो । दाहालचौरमा जेष्ठ नागरिक भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले महायज्ञ लगाइएको थियो । जसमा १५ लाख २० रुपैयाँ संकलन भएको मुल समारोह समितिका सचिव सन्तोष दाहालले जानकारी दिए । उनका अनुसार १२ लाख ७८ हजार ९ सय १५ रुपैयाँ खर्च भएको छ । यस्तै २ लाख ८६ हजार ५ सय सय १ रुपैयाँ उठ्न बाँकी छ । बचत २ लाख २१ हजार १०५ र तिर्न बाँकी ३ लाख ५० हजार रहेको छ ।
पछिल्ला केही वर्ष यता हरेकजसो गाउँहरुमा जेष्ठ नागरिकहरु मात्र हुने अवस्था आइरहेको सन्दर्भमा उनीहरुको रेखदेख र सहयोग गर्ने पवित्र उद्देश्यका साथ जेष्ठ नागरिक भवन निर्माण गर्न लागिएको र यसका लागि आर्थिक सहयोग हुने अपेक्षाका साथ महापुराणको आयोजना गरिएको आयोजकले जनाएको छ ।
नमोबुद्ध जेष्ठ नागरिक सेवा केन्द्रकी अध्यक्ष अप्सरा सत्यालले महापुराणमा सोचेजस्तो गर्न नसकिएको बताइन् । पवित्र उद्देश्यले काम थालिएको भए पनि विभिन्न कारणले सोचेजस्तो रकम संकलन नभएको तर केही समयपछि अरु विकल्प अपनाएर भए पनि काम अघि बढाइने उनको भनाइ छ ।
कार्यक्रममा आयोजक मूल समारोह समिति संयोजक राजकुमार मैनाली, नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रकी अध्यक्ष अप्सरा सत्याल, उपाध्यक्ष रामहरी दाहाल, आयोजक समिति महासचिव दिपेन्द्र अधिकारी, सचिव सन्तोष दाहाल, सह–कोषाध्यक्ष तीर्थराज पौडेल, लगायत स्थानीय र पत्रकारको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा आफ्नो कार्यव्यस्तता तथा केही अन्य समस्या दर्शाउँदै समितिका ६ जना सदस्य तथा पदाधिकारीले अध्यक्ष सत्यालसामु राजीनामा पनि बुझाएका थिए ।
