केशर कार्की
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा रहेको खड्कुले झरना पछिल्ला दिनहरुमा पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर यसलाई प्रचारप्रसारमा त्यति ध्यान दिइएको पाइँदैन ।
बरुवामा रहेको सडकबाट करिब आधा घण्टा जति हिँडेपछि खड्कुले झरना पुगिन्छ । त्यहाँ पुग्ने बित्तिकै प्राकृतिक सौन्दर्यको एकदमै लोभलाग्दो दृश्य देखिन्छ । त्यो झरनाको छङछङ आवाज र त्यो छाँगोको शीतल हावाले त्यहाँ पुग्नेहरुको मन एकदमै आनन्दित बनाउँछ ।
यो झरना पाँचपोखरी यात्रा गर्दा एकपटक सबैको आँखामा पर्दछ । किनभने यो झरना वर्षा याममा एकदमै अनौठो देखिन्छ । खड्कुले झरनाको तीनवटा तह रहेको छ । तस्बीरमा देखिएको भन्दा माथि अर्को पनि झन्डै यति नै उचाइको झरना छ र तल चाहिँ यो भन्दा अझै लामो छ ।
झरनाको पर्यटन प्रवद्र्धन गर्नका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले लगभग ३ लाख जति बजेटमा झरनासम्म जान एउटा गोरेटो बाटोलाई अलि मर्मत गरेको पाइयो। झरनासम्म आउने अलि व्यबस्थित र सहज सडक बनाउनका लागि ध्यान दिनु पर्ने देखिन्छ ।
यो झरना काठमाडौँबाट करिब ४ घण्टा जतिको यात्रापछि पुगिन्छ । अहिले हिउँदको समयमा पनि सुन्दर झरना देखिएको छ । बर्षाको समयमा त यो एकदमै सुन्दर देखिन्छ । यसको प्रचार गर्न बर्षाको समयमा एकदमै महत्वपूर्ण हुनेछ । किनभने त्यो बेलामा यो अत्यन्तै ठूलो हुन्छ। त्यसकारण यो झरनामा चाँडै नै धेरै आन्तरिक र बाह्य पर्यटकहरु भित्रिने र यहाँको पर्यटन प्रवद्र्धनको लागि चाहिँ सबैले भूमिका खेल्नुपर्ने देखिन्छ ।
अहिले विभिन्न सामाजिक सञ्जालहरू इन्सटाग्राम, फेसबुक र टिकटकलगायत युट्युबका माध्यमबाट विभिन्न समूहहरुले ब्लगहरु बनाइरहेका देखिन्छन् । जसका माध्यमबाट आम नागरिकले यस्ता लुकेर रहेका पर्यटकीय ठाउँहरू र झरनाहरूका बारेमा सहजै घरमै बसेर जानकारी पाउँछन् । त्यसकारण आजको युगमा कुनै पनि पर्यटकीय गन्तव्यका लागि उपयुक्त ठाउँहरूलाई प्रचार प्रसार गर्न खासै ठूलो लगानी आवश्यक छैन । यो ठाउँमा यो छ भनेर पालिकाहरुले देखाउन सक्यो भने यसको प्रचार आफैँ हुनेछ ।
यो प्राकृतिक सौन्दर्यले लोभलाग्दो हेर्दा मनमोहक र आनन्द प्राप्त हुने आकर्षक झरनाको रुपमा यो खड्कुले झरनालाई अगाडि बढाउन सकिन्छ । त्यसका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले व्यवस्थित तरिकाले यहाँसम्म पर्यटक ल्याउनका लागि बाटोको विषयमा एकदमै ध्यान दिनुपर्ने देखिन्छ । हामी यो आशा गरौँ चाँडै नै खड्कुले झरना हेर्नका लागि पर्यटकहरूको लाम लाग्नेछ ।
