बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानमा अध्ययनरत कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायका विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारहरू प्रदर्शन तथा स्वाद परीक्षणका लागि महोत्सव प्रस्तुत गरिएको थियो ।
प्रतिष्ठानले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीप विकाससँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । महोत्सवमा बनेपा नगरभित्रका २० भन्दा बढी विद्यालयका ५ सयभन्दा धेरै विद्यार्थीहरु र विद्यालय प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको विशेष उपस्थिति रहेको थियो । बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूले महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै उनले व्यवहारिक तथा सीपमुखी शिक्षाले विद्यार्थीहरूलाई भविष्यका लागि सक्षम बनाउने बताए ।
प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले शिक्षासँगै व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउँदै विद्यालयले विद्यार्थीहरूलाई सीपमूलक शिक्षामा अभ्यस्त बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।
सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको प्रतिभा र क्षमता विकासमा विशेष ध्यान दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध सुधार कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सृजनात्मक लेखन, कला, विज्ञान प्रदर्शनी तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ भने १५ वटा स्टलहरुमा विभिन्न खानेकुराहरु राखिएको थियो ।
