काभ्रेपलाञ्चोक । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काभ्रेको महिला विकास उपसमितिले आयाेजना गरेकाे सहकारीमा महिला उद्यमशीलता विकाससम्बन्धी एकदिने विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित सोमबार संघको सभाहलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व महिला विकास उपसमितिका संयोजक तथा संघकी संचालक सदस्य अम्बिका तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा प्रमुख अतिथि तथा सामाजिक विकास कार्यालयकी शाखा प्रमुख मन्जु कार्की विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुनप्रसाद सापकोटा, सञ्चालक समितिका सदस्यहरू, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू, सल्लाहकारहरू, विभिन्न उपसमितिका सदस्यहरू, कर्मचारीहरू तथा जिल्लाभरिका विभिन्न सहकारी संस्थाबाट प्रतिनिधित्व गर्ने ४४ जना सहभागीहरूको सक्रिय उपस्थिती रहेको थियो ।
कार्यक्रममा महिला विकास उपसमितिका सदस्य रामशोभा खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले सहकारीमार्फत महिलाको आर्थिक सशक्तिकरण सम्भव रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिलालाई उद्यमतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महिला उद्यमी दिक्षा पौडेलले प्रशिक्षण दिँदै महिला उद्यमशिलता विकासका व्यवहारिक पक्षहरूबारे विस्तृत जानकारी गराउनुभयो । उहाँले विशेषगरी सानो लगानीबाट व्यवसाय सुरु गर्ने तरिका, वित्तीय व्यवस्थापनको अनुशासन, बजार पहिचान र बजारिकरण रणनीति, उत्पादनको गुणस्तर सुधार, नवप्रवर्तनको आवश्यकता तथा प्रतिस्पर्धात्मक बजारमा टिकिरहन आवश्यक सीपहरूबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिमला सापकोटाले महिलाको आर्थिक सशक्तिकरण बिना समग्र विकास सम्भव नहुने बताउनुभयाे । उहाँले सहकारी क्षेत्रले महिलालाई उद्यमशील बनाउने दिशामा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, विशिष्ट अतिथि मन्जु कार्कीले महिला उद्यमशीलता विकासका लागि सीप, पूँजी र बजारको समन्वय आवश्यक रहेको बताउँदै सहकारी संस्थाहरूले सदस्यहरूलाई लक्षित गरी व्यवहारिक तालिम र परामर्श सेवा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी संस्थाहरूलाई उत्पादनमुखी र उद्यममुखी बनाउने दिशामा संघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै महिलालाई केन्द्रमा राखेर सञ्चालन गरिएका कार्यक्रमहरूले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमकी सभापति अम्बिका तिमल्सिनाले महिला विकास उपसमितिले आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धि, उद्यम प्रवर्द्धन तथा आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तरक्रिया सत्रमा सहभागीहरूले आफ्ना अनुभव, समस्या तथा जिज्ञासाहरू राख्दै सहकारीमार्फत उद्यम सञ्चालन गर्दा देखिएका चुनौतीहरूबारे छलफल गरेका थिए ।
