चाडपर्वको उल्लाससँगै सडक दुर्घटनाले निम्त्याउने पीडा र शोक हरेक वर्ष दोहोरिनु दुःखद् विषय हो । दसैंको अवधिमा देशभर भएका १ हजार ३३९ वटा सवारी दुर्घटनामा १२४ जनाको मृत्यु हुनु र २ हजार ९८८ जना घाइते हुनुले नेपालको सडक सुरक्षा अवस्था अझै चुनौतीपूर्ण रहेको देखाउँछ । चाडपर्वमा परिवारसँग खुसी साट्न घर जाने र फर्किने नागरिकका लागि सडक यात्रा सुरक्षित बनाउन राज्य, सवारी चालक, यातायात व्यवसायी र यात्रु सबै जिम्मेवार बन्न आवश्यक छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस वर्षको दसैं अवधिमा गत वर्षको तुलनामा सवारी दुर्घटनाको संख्या घटेको देखिए पनि मानवीय क्षति कम हुन सकेको छैन । दुर्घटनामा ज्यान गुमाउने १२४ जना केवल तथ्याङ्कका अंक होइनन्, उनीहरू कसैका अभिभावक, छोराछोरी, जीवनसाथी वा परिवारका सहारा हुन् । उनीहरूको मृत्युले परिवारमा सिर्जना गर्ने रिक्तता र पीडा अपूरणीय हुन्छ । त्यसैले सडक दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।
तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने र लापरबाहीपूर्वक ओभरटेक गर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण हुन् । यीमध्ये धेरै जोखिम सावधानी, अनुशासन र जिम्मेवार व्यवहारबाट न्यूनीकरण गर्न सकिन्छ । चालकले निर्धारित गति पालना गर्ने, पर्याप्त आरामपछि मात्र सवारी चलाउने, सवारीको प्राविधिक अवस्था जाँच गर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्ने हो भने धेरै दुर्घटना रोक्न सकिन्छ । यात्रुले पनि चालकलाई नियमविपरीत सवारी चलाउन दबाब दिनु हुँदैन र जोखिमपूर्ण अवस्था देखिएमा सम्बन्धित निकायलाई खबर गर्नुपर्छ ।
दुर्घटना न्यूनीकरणको जिम्मेवारी प्रहरीको जाँच र कारबाहीमा मात्र सीमित हुनु हुँदैन । सडकको अवस्था सुधार, जोखिमयुक्त स्थानको पहिचान, प्रभावकारी संकेतचिह्न, नियमित सवारी परीक्षण र चालकको स्वास्थ्य तथा क्षमताको अनुगमनमा राज्यले विशेष ध्यान दिनुपर्छ । यातायात व्यवसायीले पनि नाफाभन्दा यात्रुको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । नियम उल्लङ्घन गर्नेलाई पहुँच र प्रभावका आधारमा छुट दिने प्रवृत्ति अन्त्य गर्दै कानुनको निष्पक्ष कार्यान्वयन सुनिश्चित गरिनुपर्छ ।
दसैं सकिए पनि तिहार, नेपाल संवत् र छठजस्ता पर्व नजिकिँदै छन् । यस अवधिमा सवारी चाप र यात्राको आवागमन बढ्ने भएकाले सुरक्षा सतर्कता अझ आवश्यक छ। प्रहरीले सञ्चालन गर्ने जाँच, यात्रु सहायता कक्ष र जनचेतनामूलक अभियानलाई प्रभावकारी बनाउनुका साथै नागरिक स्वयं पनि सचेत हुनुपर्छ ।
सडक दुर्घटना पूर्णतः रोक्न नसकिए पनि जिम्मेवार व्यवहार, प्रभावकारी निगरानी र नियमको पालना गरेर यसको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ । सुरक्षित यात्रा सबैको अधिकार र जिम्मेवारी हो । त्यसैले सवारी चलाउँदा हतार होइन, सावधानी अपनाऔँÙ प्रतिस्पर्धा होइन, संयमता रोजौँ । केही मिनेट बचाउने हतारमा जीवन नै गुमाउने अवस्था आउन नदिऔँ । सडक सुरक्षालाई साझा अभियान बनाऔँ र अमूल्य मानव जीवनको रक्षा गरौँ ।
