ज्ञानमणि नेपाल कालोटोपी

तपाईं वनका जडीबुटी जस्तो बन्ने प्रयास गर्नुहोस् । चिन्नेहरुका लागि बहुमूल्य औषधी, नचिन्नेका लागि झारपात । यसको मतलब तपाईंलाई सबैले चिन्नै पर्छ र सम्मान गर्नैपर्छ भन्ने छैन, तर जसरी वनका जडीबुटी सबैका लागि उपयोगी हुन्छन्, त्यतिसम्म चाहिँ बन्न सकियो भने तपाईंको महत्व सधैं सबैका लागि कुनै न कुनै दिन रहिरहन्छ ।
खुशी भन्ने चीज आफूभित्र छैन भने पनि अरुलाई भने दिन सकिन्छ । मुस्कान तपाईंभित्र रहेको हीराको माला जस्तै हो, जसलाई किन्न पैसा चाहिँदैन । जबसम्म त्यो हीराको माला तपाईंसँग हुन्छ नि, तबसम्म तपाईंलाई अनुहार चम्काउन कुनै फेसवास, क्रिम र मेकअप गरिरहनु पर्दैन । तपाईंको पछाडि कुरा काट्नेहरुसँग कहिल्यै पनि नरिसाउनुस्, किनकी कुरा उसैको काटिन्छ, जसमा केही न केही कुरा हुन्छ । संसारमा बोल्न त सबै जीवलाई आउँछ, कसैको शब्द बोल्छ, कसैको समय बोल्छ, त कसैको पैसा बोल्छ । तर यथार्थ हरेक ठाउँमा कम बोलिन्छ र त्यो मान्छे अधिकांशको लागि आँखाको तारो बन्न पुग्छ ।

छिट्टै रिसाउने मानिसहरुसँग पछाडिबाट कुरा काट्ने बानी हुँदैन । उनीहरु चिप्लो घसेर बोल्दैनन्, देखेको कुरा बोल्छन् , अन्याय सहनै सक्दैनन् । सधैं सत्यको पक्षमा हुने उनीहरुको स्वभाव हुन्छ । मनमा इख लिइरहने र शत्रुता लामो समय मनमा लिइरहने बानी हुँदैन । निकै सहयोगी मनका हुन्छन्, गल्ती भए पनि माफी माग्ने उनीहरुको स्वभाव हुन्छ । मनका सफा पनि हुन्छन् । तर कप्टी स्वभावका मान्छे बाहिर कम बोल्छन्, भित्रभित्रै अनेक जाल बुन्छन् । सानो कुरालाई पनि पहाड बनाउँछन् । उनीहरुसँग निकै सतर्क हुन सकिएन भने कुनै पनि बेला समस्यामा पार्छन् ।

बिना योजना ठूलाठूला कुरा ताक्ने र अरुबाट धेरै आशा गर्ने मान्छे जिन्दगीमा कहिल्यै सफल हुन सक्दैन । मान्छेबाट जीवनमा गल्ती हुन सक्छ तर गल्तीलाई नस्विकार्ने र एउटै गल्ती पटकपटक दोहो¥याउने मान्छे त झन महामूर्ख हो । एकपटकको गल्तीलाई मेट्न इरेजर हुन्छ तर इरेजर छँदैछ नि भनेर सधैं गल्ती गर्नेले यो पनि सोच्नु पर्छ कि धेरै मेटिरहँदा गल्ती होइन, कपी नै च्यातिन्छ । कुनै कुरामा आफू मात्र जान्ने छु सोच्नु हुँदैन र हरेक कुरालाई गम्भीररुपले लिनुपर्छ । सधैंभरि अरुबाट तारिफको अपेक्षा राख्नु पनि उचित हुँदैन । काम राम्रो गरेपछि तारिफ गर्नेहरुको जमातलाई कहाँ रोक्न सकिन्छ र ? आफूलाई अरुसँग तुलना कहिल्यै गर्नु हुँदैन । केही कुरामा आँट नगर्ने र सधैं अल्छी गरिरहने तर सम्पत्तीको लागि मात्र भएभरको दिमाग खर्च गर्ने मानिसमा मानसिक समस्या पनि देखा पर्न सक्छ । त्यसैले कुनै पनि काम योजना बनाएर गर्नु उत्तम हो ।

सधैं सत्य बोल्नु, इमान्दार रहनु र कसैलाई धोका नदिनु असल मान्छेका गुणहरु हुन् । जीवनमा धैर्य राखेर कठिन परिस्थितीलाई पनि सहज तरिकाले सामना गर्नु, अरुको विचार, भावना र अधिकारको सम्मान गर्न सिकियो भने हामी पक्कै एकदिन समाजमा राम्रो मान्छेमा गनिन सक्छौं । मानिसलाई अघि बढ्न नदिने एउटा अदृष्य तत्व हो अल्छी । अल्छी मान्छेले गर्न सक्ने काम पनि गर्दैन । अझ बाहाना बनाउने मान्छेले पनि केही प्रगती गर्न सक्दैन । आफू काम गर्न नसक्ने अनि अरुले केही गर्न दिएनन् भनेर गुनासो गर्ने मानिस पनि सफल बन्न सक्दैन । मानिसलाई नजिक भएका र आफन्त भनिएकाहरुले पनि केही काम गर्न दिँदैनन् । आज एकछिन त हो नि, एकपटक मात्र त हो नि , जस्ता कुराहरुका पछि लागेर साथीहरुले भनेको मान्ने हो भने पनि समस्या आउन सक्छन् ।

मानिसको जीवनमा दुःख सधैं आउँछन् । अभाव पनि उसैगरि आउँछन् । दुःख र अभावलाई सँगसँगै अघि बढाउन सक्ने मानिसले जस्तोसुकै ठूलो समस्या आए पनि कहिल्यै हार खानु पर्दैन । परिस्थतीसँग जुध्न सक्ने मानिसका अघि पछि सफलताका चाङहरु आफैं आइरहेका हुन्छन् । तर काम गर्न नसक्ने र अनेक बाहानाबाजी, समस्या र अप्ठ्याराहरु देखाउने मानिस न अघि बढ्न सक्छ न पछि फर्कन नै । ऊ सँग केवल खोक्रो आडम्बर र घमण्ड मात्र बाँकी रहन्छ । त्यसैले भनिन्छ नि आफ्नो पीडा सकेसम्म कसैलाई नभन्नु किनकी सबैको घरमा मल्हम नभए पनि अधिकांशको घरमा नुन भने पक्कै हुन्छ । जसले तपाईंको आलो घाउमा औषधिको काम होइन, चह¥याउने चुकको काम गरिरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *