ज्ञानमणि नेपाल कालोटोपी

यति बुझ्नोस कि तपाईंको सही समय गलत मानिससँग खर्च भयो भने जिन्दगीमा त्यो भन्दा बढी घाटा अरु केही हुँदैन ।
आकाशमा लाखौं ताराहरु छन् । तिनीहरु रातमा पिलीपिली चम्किएका देखिन्छन् तर ती ताराहरुले पृथ्वीमा उज्यालो छर्न सक्दैनन् । लाखौं ताराहरु भए पनि एउटा सूर्य भएन भने पृथ्वीमा सधैं अँध्यारै हुन्छ । उज्यालो र तातोका लागि सूर्य नभइ हुँदैन । यस्तै हो, संसारमा करोडौं मानिसहरु छन् तर तिनीहरु सबैजना संसारमा लोकप्रिय छैनन् । एक दिन सबैको अन्त्य हुन्छ तर त्यसअघि नै मानिसले पनि आफ्नो अस्तित्व जोगाउन सकेन भने ती निरिह ताराहरु जस्तै हराउँछ । त्यसैले तपाईं पनि सबैको प्यारो सूर्य जस्तै हुने लक्ष्य लिनुस्, सकेसम्म राम्रो गर्नुस्, यदि सकिएन भने पनि नराम्रो चाहिँ गर्दै नगर्नुस् ।
अरुलाई सिध्याउँछु र आफू अघि बढ्छु भन्ने मानिस संसारमा कहिल्यै उँभो लाग्दैन । त्यस्ता मानिस क्षणिकरुपमा आफूले प्रगति गरेको ठान्छन् तर यसले दीर्घकालमा उनीहरुलाई ठूलो नोक्सान हुन्छ । भगवान साझा हुन् सबैका । त्यो मूर्खले पनि समस्यामा भगवानकै नाम लिन्छ, जसरी साधुले सधैं भगवान पुकार्छ । दिमागले काम गर्न छोडेर मानसिक रोगी भएको कुनै एक मान्छेले संसारमा आफू मात्र सद्दे छु र संसारका सबै मानिस पागल छन् भन्ने सोचिरहेको हुन्छ । जब दिमागले काम गर्न थाल्छ, त्यसबेलामा मात्र उसले आफ्नो यथार्थता बुझ्छ अनि उसको भ्रम पनि टुट्छ ।
प्रगति गर्न केही गर्नै पर्दैन, जीवनमा केही असल साथीहरु भए पुग्छ । धन सम्पत्ती त आज छ, भोलि नहुन पनि सक्छ नि । धन सम्पत्तीलाई आधार मानेर मान्छे ठूलो र सफल मान्नु एकदमै गलत हो । धन मात्र भएर हुँदैन, त्यसलाई सही ठाउँमा खर्च गर्ने आँट र हिम्मत पनि हुनुपर्छ । सदूपयोग गर्न सके ढुंगा पनि मुर्ति बन्छ, धन पनि त्यस्तै हो । मानिसले आकाश छुन जतिसुकै प्रयास गरे पनि खुट्टा भने जमिनमै टेक्नुपर्छ । कसैले तपाईंलाई धोका दियो र तपाईंको मन तोड्ने प्रयास गर्यो भने पनि नआत्तिनुस् किनकी त्यसले तपाईंको मन झन बलियो बनाउँछ । मानिसको जीवनमा प्रेम अतिआवश्यक छ । यसको मतलब प्रेम भनेको केटाकेटीबीच मात्र हुने होइन । तैपनि भनिन्छ, जो भेटिन्छ, त्यहीसँग प्रेम गर्नु भनेको त्यो सम्झौता हो । जसलाई माया गरिन्छ, उसलाई पाइन्छ भने त्यो सफलता हो र जो कहिले पनि आफ्नो हुँदैन भन्ने थाहा छ, तैपनि उसैलाई माया गरिन्छ भने त्यो वास्तविक प्रेम हो । समझदार मान्छेले कठिन समयमा सहि बाटो खोज्छ तर कायर मान्छेले भने बाहाना खोज्छ । सफलता बाहानामा होइन, संघर्षमा प्राप्त हुन्छ ।
मान्छे गरिब भएर जन्मिनु उसको गल्ती होइन तर गरिब भएरै मर्नु चाहिँ उसको जीवनकै ठूलो गल्ती हो । किनकी मानिस जन्मिँदा सबै उस्तै हुन्छन्, खाली हात नै आउँछन्, धर्तीमा आएपछि नै हो उसले प्रगति गर्ने । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने, जीन्दगीमा कमाउनु मात्रै सफलता होइन, त्यसलाई जोगाउनु पनि पर्छ, चाहे त्यो धन होस् वा सम्बन्ध । त्यसैले मान्छेले सुख खोज्ने होइन, दुःखको उपभोग गरेर बाँच्न सिक्नुपर्छ । तपाईं एक्लै हुनुहुन्छ भने आफ्नो विचारलाई नियन्त्रणमा राख्नुस् । साथीहरुसँग हुनुहुन्छ भने आफ्नो गोजीलाई नियन्त्रणमा राख्नुस् । रिसमा हुनुहुन्छ भने आफ्नो फैसलालाई नियन्त्रणमा राख्नुस् । समूहमा हुनुहुन्छ भने आफ्नो व्यवहारमा ध्यान दिनुस् । कसैले तपाईंको तारिफ गर्छ भने आफ्नो घमण्डलाई नियन्त्रणमा राख्नुस् । यदि कसैले तपाईंको बारेमा गलत भन्दैछ भने आफ्नो आवेगलाई नियन्त्रणमा राख्नुस् । यसो गर्न सकियो भने तपाईंले जीवनमा कसैसँग हारको सम्झौता गर्नै पर्दैन ।
मानिसको जीवनमा पतन र विनासको जग घमण्ड हो । विजय र सम्मानको भ¥याङ नम्रता हो । आफू एक्लो हुनु भनेको कसैलाई बदनाम गर्दाको परिणाम हो । कसैलाई धोका दिनु पुल भत्काउनु जस्तै हो । कसैको आदर कमाउन आफूले पनि उसलाई आदर गर्न सक्नुपर्छ । आफैंलाई धोका दिनु भनेको झुटो बोल्नु हो । असफलता अझै राम्रोसँग खारिने अवसर हो । कसैले अपमान ग¥यो भने आत्तिनु हुँदैन, अरु राम्रो बन्ने कोशिश र साहस राख्नुपर्छ । जागिर बलले भ्याएसम्मको खेतबारी जस्तै हो भने पढाई संसार हेर्ने आँखा हो । शरिरको सुन्दरता ओइलिएर जाने फूल जस्तै हो । धनसम्पत्ती भनेको व्यक्तिगत साधन मात्र हुन्, सुखदुःखका साथी त इष्टमित्र मात्रै हुन् । जीवनमा संघर्ष गर्नु अनुभव बटुल्नु हो । यी कुराहरुलाई ख्याल गरेर अघि बढ्न सकियो भने कुनै दिन कमजोर हुनुपर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *