ज्ञानमणि नेपाल
तपाईं पानी जस्तै बन्न सक्नुस् जसले आफ्नो बाटो आफैं बनाओस् । न रंग छ, न कुनै गन्ध तर एकछिन भएन भने कसैको अस्तित्व नहुने । पानी बढी भए पनि नहुने, नभइ पनि नहुने ।
तपाईं पथ्थर जस्तो नबन्नुस्, जसले अरुको बाटो पनि छेकोस् । जीवनको सबभन्दा महंगो चीज तपाईंको वर्तमान समय हो, जुन एकचोटी गुमाउनुभयो भने संसारको कुनै पनि सम्पत्तीले किन्न सकिँदैन । जे साथमा छ, त्यसमै खुशी हुनुस्, किनकी तपाईंकै जस्तै जिन्दगी जिउन पनि कसैलाई सपना जस्तै हुनसक्छ । सरल स्वभाव भएको व्यक्तिलाई कमजोर कहिल्यै नदेख्नुस्, किनकी सरलता उसको संस्कार पनि हुनसक्छ, कमजोरी होइन ।
मनमा शान्ति चाहनु हुन्छ भने अरुको काम र अरुको कमजोरीमा ध्यान दिन छोडिदिनुस् । तनको सुन्दरताले मनलाई आकर्षित गर्छ, तर तपाईंको स्वभावको सुन्दरताले हृदयलाई आकर्षित गर्छ, त्यसैले स्वभावलाई बदल्नुस् । सत्य हो यो पनि कि संसार डुबाउँछु भन्ने समुन्द्रले पनि आफूमाथि परेको एक थोपा तेललाई पनि डुबाउन सक्दैन । अनि संसार नियाल्छु भनेर दौडने मानिसका आँखा, तर त्यही आँखामा परेको कसिंगर झिक्न पनि अरुको भर पर्नु पर्छ । अब यसलाई कसरी बुझ्ने ?
मानिस आफ्नै खुट्टामा उभिन सक्नुपर्छ । भनिन्छ नि, कसैको महलमा छायाँ बनेर हिँड्नुभन्दा आफ्नै झुपडीमा राजा बनेर बस्नु उचित, भलै रात झुपडीमा काटे पनि सपना भने महल बनाउने देख्नु । आँट र हिम्मतले मानिस सफल बन्छ, समाज परिवर्तनका लागि बाटो सही खन्न सक्नुपर्छ, अरुको खेदो खनेर कहाँ गन्तव्यमा पुगिन्छ र ?
संगतले सोच बदल्छ, सोचले विचार । विचारले कर्म बदल्छ, कर्मले भाग्य, त्यसैले सफलताको शुरुवात सधैं असल संगतबाट मात्र सम्भव हुन्छ । गुलियोमा बस्न मन भए मौरीको संगत गर्नु, फोहोरमा बस्न मन भए झिंगाको संगत गर्नु । त्यसैले भनिएको होला, सँगले रंग सर्छ ।
कसैलाई नजरमा नराख्नु, किनकी नजरमा त केवल सपना बस्छन् । अनि सपना त क्षणिक हुन्छ, जो समयसँगै हराएर जान्छ । राख्नै मन छ भने दिलमा राख्नुस्, किनकी दिलमा त केवल आफ्ना मानिस बस्छन् । दिलले साँच्ने सम्बन्ध कहिल्यै मेटिँदैन, जहाँ साँचो माया र भरोसा सधैं जिवित रहन्छ । भनिन्छ नि, आफूले माया गरेको मान्छे जब बोल्न छोड्छ नि, तब हजार जनासँग बोले पनि उसको अभाव हरेक शब्दमा खड्किरहन्छ । जीवनमा मन पर्ने मानिस कहिल्यै पनि रुदैनन्, मन पराउनेहरु रुन्छन् । यहाँ छोड्ने होइन, छोड्न डराउने रुन्छन् । विश्वास लाग्दैन भने आर्यघाटमा गएर हेरौं त, जहाँ जल्ने होइन, जलाउनेहरु रुन्छन् । दुनियाँ यस्तै छ, जो सधैं साथमा रहन्छु भन्छ नि, ऊ पनि बाँचुञ्जेल मात्र हो । मरेपछि त उपियाँले पनि डेरा सर्छ । आर्यघाटमा जलिरहेको शव आफन्तकै हो नि, त्यतिबेला पनि मानिस घडी हेर्छ र भन्छ, ‘लास जलिसक्न अब कति बेर लाग्छ ?’ त्यसैले जन्मिएको एक्लै हो, जीवन जिउन भेट भएकाहरु अन्तिमसम्म नै सँगै हुन्छन् भन्ने छैन । आफू पनि यसरी नै जल्नु पर्छ भन्ने मानिसलाई थाहा छ, तैपनि कहिल्यै मर्नुपर्दैन जस्तो गर्छ मान्छे । यहि भ्रमको पर्दा उघार्न सक्यो भने जिन्दगी सरल छ नत्र महाकठिन ।
मान्छेहरु पत्याउँदैनन्, यथार्थ पचाउन अलि गाह्रै हुन्छ । तैपनि साँचो कुरा कहिल्यै झुटो हुन सक्दैन नि । मनमा पीर, जीवनमा थोरै ऋण र दुईचार जना शत्रुले छोडेनन् भने तपाईंले आफूलाई भाग्यमानी ठान्नुस् । किनभने, पीरले बाँच्न सिकाउँछ, ऋणले कमाउन सिकाउँछ र शत्रुहरुले जित्न सिकाउँछन् । सधैं सत्य बोल्नु, इमान्दार रहनु र कसैलाई पनि धोका नदिनु असल मानिसका गुण हुन् । अरुको दुःख बुझ्ने क्षमता राख्नुस्, जीवनमा धैर्यता राख्नुुस्, यी गुणले तपाईंलाई सधैं सफलताको शिखर उकाल्न मद्दत गर्छन् ।
धैर्यता मानिसलाई सफल बनाउने महत्वपूर्ण कडी हो । त्यसैले प्रार्थना गर्नुभन्दा पहिले विश्वास गर्नुहोस् । प्रार्थना गरेर के हुन्छ र भन्दै किन प्रार्थना गर्नु र ? अनि आफूले केही बोल्दै हुनुहुन्छ भने अरुले बोलेको कुरा सुन्ने पनि धैर्यता राख्नुस् । आफ्ना कुरा अरुले सुनिदेओस् भन्ने सोच छ भने अरुको कुरा पनि त सुन्नु पर्छ नि । त्यस्तै कतै खर्च गर्दै हुनुहुन्छ भने पहिले खल्ती छाम्नुस् । आफ्नो हैसियतभन्दा बढी खर्च गर्न कमाउनुपर्छ । देखासिकीमा खर्च गर्नु भनेको ऋण बोक्नु हो । ऋणले जीवनमा सधैं ओरालो यात्रा मात्र डोहोर्याउँछ । केही लेख्दै हुनुहुन्छ भने पहिले राम्ररी सोच्न्स् । हार मानेर कहिल्यै नथाक्नुस्, त्यो भन्दा पहिले जित्ने प्रयास गर्नुस् । अनि मर्नुभन्दा पहिले असल मान्छे भएर बाँच्न सिक्नुस्, त्यसपछि मर्न पनि आनन्द आउँछ । अरुको रिसराग गरेर बाँचिएको छ भने मर्न पनि पक्कै सहज हुँदैन ।
