काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा मंगलबार दिउँसोदेखि भिषण आगलागी भइरहेको छ । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सामुदायिक वनमा आगलागी भएको हो ।
नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी आगो नियन्त्रणको पहल गरिरहेका छन् । तर पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानवबस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।
डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको थियो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यलयका प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताउनुभयो । आगलागी भएको स्थानबाट मानवबस्ती करिव तीन किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ भने नेपाली सेनाको टोली पनि आगालागी भएको स्थानमा गएको छ ।
