काभ्रे । बनेपा नगरपालिका वडा नम्बर २ गिरिगाउँमा रहेको सिद्धेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि स्वर्णिम श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान २०८१ को आयोजना गरिएको छ ।
वसन्त पञ्चमीको अवसर पारेर आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोक कल्याण समस्त जीवात्माहरुको सुख शान्ति एवं समस्त ज्ञात–अज्ञात आत्माहरुको मोक्ष प्राप्ति हेतु जेष्ठ नागरिक दिवासेवा केन्द्र एवं सिद्धेश्वर महादेव मन्दिरमा महायज्ञ हुने भएको हो ।
पूर्वाधार विकास एवं जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणका लागि माघ १८ गतेदेखि २५ गतेसम्म श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान हुने भएको बुधबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
देशब्यापी १०८ श्रीमद् भागवत संकल्प अनुरुप मुमुक्षु श्री उद्वव शर्मा हुमागाईको अभियानअनुरुप ७० औं अनुष्ठान राष्ट्रिय विभुषित कथा व्यास नारीरत्न विदुषी आचार्य सुश्री अनुराधा देवीजीको मुखाराविन्दबाट कथा वाचन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उक्त मन्दिर पुनर्निर्माण र जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि करिब ५० लाख रुपैंयाँ लाग्ने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नकुल गिरिले बताउनुभयो । भक्तजनको सहयोगबाट उक्त मन्दिर र आश्रमको निर्माणका लागि रकम जुट्ने विश्वासका साथ महायज्ञ गर्न लागिएको उहाँको भनाइ थियो ।
पत्रकार सम्मेलनमा १०८ भागवत संकल्प अनुरुप मुमुक्षु उद्वव शर्मा हुमागाईंले बसन्त पञ्चमीको पावन अवसर पारेर उक्त स्थानमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र र सिद्धेश्वर महादेव मन्दिरको पूर्वाधार विकासका लागि सप्ताहको आयोजना गरिएको बताउनुभयो । उक्त मन्दिरमा परापूर्वकालदेखि औंशीको दिनमा राति उज्यालो भइरहने किंबदन्ती रहँदै आएको छ । मन्दिर परिसर गत असोजको बाढीपहिरोले भत्किएपछि स्थानीयहरु यसको पुर्ननिर्माणमा जुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *