धुलिखेल । धुलिखेल नगरपालिकाले विद्यालय तहमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरी तथा विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप एचपिभीका बारेमा विद्यालय तहका शिक्षक तथा संचारकर्मीहरुलाई अभिमुखिकरण गराएको छ ।

खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले खोपका बारेमा जिज्ञासा राखेका थिए । माघ २२ देखि २९ गतेसम्म पहिलो चरणमा धुलिखेलका १ हजार ४ सय १५ जना बालिकाहरुलाई खोप लगाउने तयारी छ । यसका साथै विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका ८ जनालाई खोप लगाईन्छ ।

नगर प्रमुख ब्याञ्जुले जीवन रक्षाका लागि खोपको महाअभियान सफल बनाउनु पर्ने बताए । सुरक्षित र निशुल्क खोप एचपिभीका लागि सम्पूर्ण तयारी गरिसकेको स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले बताए । १२ वटै वडाका विद्यालयहरुमा खोप केन्द्र तथा त्यसका लागि आवश्यक तयारी र खोप कार्यकर्तालाई तालिम र खोपको महत्वका बारेमा जानकारी गराईएको केसीले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्षहरु, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने, स्वास्थ्य शाखाका सरोज थापा, विद्यालयका प्रधानाध्यापकहरु र पत्रकारहरुले खोप अभियान सफल बनाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *