बनेपा । काभ्रेपलाञ्चोकको व्यापारिक नगरि बनेपामा बुधबारदेखि साताव्यापीरुपमा सोनाम ल्होछार मेला तथा महोत्सव–२०८१ शुरु भएको छ ।
महोत्सवको वागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले कार्यक्रमस्थल बनेपास्थित उग्रेश्वर महादेव परिसरमा उद्घाटन गर्नुभयो । माघ २२ गतेसम्म रहने महोत्सवको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्ता मेला तथा महोत्सवले लोप हुने अवस्थामा पुगेका कला संस्कृतीको जगेर्ना हुनुका साथै कृषि र पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउनुभयो । उहाँले मेला महोत्सव जस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा गर्दै प्रदेश सरकारबाट सहयोग रहने पनि बताउनुभयो । साथै मन्त्री ठकुरीले सोनाम ल्होछारको सबैलाई शुभकामना पनि व्यक्त गर्नुभयो ।
महोत्सव आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले दिएको जानकारी अनुसार बिहीबारदेखि महोत्सवमा व्यापारिक स्टलहरु पनि रहनेछन् । बनेपा नगरपालिका अन्तर्गत वडानम्बर ८ मा रहेको उग्रेश्वर मन्दिर परिसरको खाली जग्गामा २८६१ डुल सोनाम ल्होछार मेला तथा महोत्सव–२०८१ आयोजना गरिएको हो ।
तामाङ जातीको बाक्लो बसोबास रहेको काभ्रे जिल्लामा सांस्कृतिकरूपमा संरक्षण, प्रचारप्रसार गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले यो मेला तथा महोत्सव शुरु गरिएको संयोजक क्षेत्रबहादुर वाइबाले जानकारी दिनुभयो । कृषि क्षेत्रको प्रवद्र्धन तथा आधुनिक कृषितर्फ किसानहरुलाई उजागर गराई स्थानीयस्तरमा तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न र घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुको बजार प्रवद्र्धनमा टेवा पुर्याउने मेलाको मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु, सीपमुलक तालिम र तालिमबाट उत्पादित वस्तुको प्रवद्र्धन पनि मेलाका आकर्षण रहनेछन् ।
मेलामा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक ऊर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामाग्री तथा औजार लगायतका विभिन्न ६० वटा स्टल रहेका पनि संयोजक वाइबाले बताउनुभयो । उहाँका अनुसार मेलामा सूचना प्रविधि तथा विद्युतीय सामाग्री, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु, सांस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग्य, स्थानीय पहिचान झल्काउने झाँकी तथा जातीविशेषका नाच, पर्यटन क्षेत्रको विस्तृत जानकारी, स्थानीय खानाका विशेष परिकारहरु पनि विशेष आकर्षक रहनेछन् । यस्तै बाल उद्यानहरु राखिनुका साथै तामाङ समुदायका रहनसहन, भेषभुषा र खानाका परिकार तथा नृत्य पनि मेलामा प्रस्तुत हुनेसमेत उहाँले जानकारी गराउनुभयो ।
करिब २ लाख जती अवलोकनकर्ताले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलाको पहिलो दिन आज प्रवेश निःशुल्क रहेको र जेष्ठ नागरिक र बालबालिकाका लागि पनि प्रवेश निःशुल्क गराउने आयोजकले जनाएको छ ।
