बेथानचोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । माघ ९ गतेदेखि दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो ।
उक्त डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ गत शुक्रबार हेलिकोप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगलागी निभाइएको थियो । केही दिनअघिसम्म डढेलोले भीषण रूप लिए पनि हाल नियन्त्रणमा आएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ ।
खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको जनाइएको छ । थामलेकस्थित चिसापानी सामुदायिक वन, मूलडाँडा चोरण्डे सामुदायिक वन, जनजागृति सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वन आगलागीबाट धेरै क्षति भएको भएको छ ।
यसैबीच, पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानमा आगलागीपछि बुधबारबाट आवतजावतमा रोक लगाइएकामा खुला गरिएको छ । आगलागी नियन्त्रणमा आएसँगै उक्त क्षेत्रमा जान खुला गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । ‘पिकनिक स्पट’ लाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको अनियन्त्रित डढेलो निभाउन सक्छ त ? आममानिसले त्यसबारे सोचेकै हुँदैनन् तर एउटा पोखरीले पर्यावरणको सन्तुलन र प्राकृतिक विपत्तिमा कस्तो सहयोग गर्न सक्छ भन्ने उदाहरण बेथानचोकमा आगलागी नियन्त्रणमा खेलिएको भूमिकाबाट स्पष्ट छ ।
ठुलो पहाड र चट्टानेभिरसँगै अत्यधिक हावा चल्ने काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमाना थामलेक महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा फैलिएको आगो एक सातापछि सानो पोखरीको सहयोगले नियन्त्रणमा आएको बेथानचोक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयो ।
अमेरिका जस्तो देशमा आगलागीबाट विध्वंस भइरहेकै बेला जिल्लाको उच्च भागको सामुदायिक वनमा आगोको लपेटा फैलिएपछि ठुलो चुनौती देखिएको डढेलो नियन्त्रणमा नयाँ प्रविधिको प्रयोगले सम्भव भएको गाउँपालिका वडा नं. २ मा खनिएको पोखरीले सबैभन्दा ठुलो काम गरेको हो । हेलिकोप्टरले लगातार छोटो समयमै २४ हजार लिटर पानी खन्याएपछि आगो नियन्त्रणमा सहज बनेसँगै त्यहाँ नजिकको विकल्प भनेको १५ किलोमिटर टाढाको पनौती जलविद्युत् केन्द्र खोपासीको पोखरी रहेको छ ।
बस्तीमा आउन लागेको डढेलोलाई नियन्त्रण गर्न सो पानीले निकै ठुलो काम गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताउँदै यो डढेलोले हामीलाई ठुलो पाठ सिकाएको र कम्तीमा एउटा वडामा तीन वटा पोखरी आवश्यक देखिएको समेत बताउनुभयो ।
