कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडानम्बर ९ स्थित डेडीथुम्का माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ ।
सो विद्यालयबाट २०५५ सालमा एसएलसी दिएका विद्यार्थी समूहले सँगै पढेका साथीहरुबाट प्रतिव्यक्ति न्यूनतम एक हजार रकम संकलन गरेर स्कूलको नाममा अक्षयकोष स्थापना गर्न लागिएको हो । यसका लागि इच्छुक व्यक्तिले एक हजारभन्दा बढी रकम पनि जम्मा गर्न सकिने यस अभियानका संयोजक दिपक सापकोटाले बताउनुभयो ।
माघ १९ गते भक्तपुरको सूर्यविनायकस्थित घ्याम्पेडाँडामा पुनर्मिलनको आयोजना गर्दै सो समूहले यस्तो निर्णय गरेको हो । संकलित रकम जति उठ्छ त्यसलाई विद्यालयको नाममा अक्षयकोष स्थापना गर्ने र त्यसबाट आएको ब्याजबाट हरेक वर्ष सोही विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, अपाङ्गता भएका, दलित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने गरि अभियान सुरु गरिएको अभियान्ता नारायण ढकालले जानकारी दिनुभयो ।
शनिबारदेखि शुरु गरिएको यो अभियानमा सहयोग गर्नेहरु दैनिक रुपमा बढीरहेको र हालसम्म ९६ हजारभन्दा बढी संकलन भइसकेको बताइएको छ । यस अभियानमा साथ दिन सम्बन्धित विद्यार्थीहरुलाई अनुरोध गरिएको छ । धेरैजसो विदेशमा रहनुभएकाले सम्पर्कको प्रयास भइरहेको अर्का अभियन्ता सुरेश सापकोटाले बताउनुभयो ।
विसं. २०१६ सालमा स्थापित डेडीथुम्का माध्यमिक विद्यालयले २०३८ सालदेखि एसएलसी परीक्षामा आफ्ना विद्यार्थीहरुलाई संलग्न गराउँदै आएको छ । मण्डनदेउपुरकै सबैभन्दा पुरानो यस विद्यालयमा २०५५ सालमा एसएलसी दिएका विद्यार्थीबाट शुरु भएको यो अभियान पहिलो भएको र यसले केही मात्रामा भएपनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने सम्बन्धित विद्यार्थीहरुको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *