बनेपा । प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
मंगलबार बनेपामा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । जसमा अध्यक्षमा केदार तिमल्सिना, उपाध्यक्षमा सन्तोष चौलागाईं, महिला उपाध्यक्षमा सविता न्यौपाने र सचिवमा विकास तिमल्सिना निर्वाचित भएका छन् । यस्तै सहसचिवमा रञ्जित बोहरा, सहसचिव समावेशीमा बुद्धकुमार श्रेष्ठ, कोषाध्यक्षमा मणिराम दाहाल र सदस्यहरूमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाईं, नवराज ढकाल, लोकबहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं रहेका छन् ।
अधिवेशननमा दुई सञ्चारकर्मी पुरस्कृत
प्रेस चौतारी नेपाल काभ्रेको अधिवेशननमा दुई सञ्चारकर्मी पुरस्कृत भएका छन् । चौतारीले स्थापना गरेको कृयाशील पत्रकारिता पुरस्कारबाट अध्यक्ष भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट सचिव जगतमान बल पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, अध्यक्ष विनोदकुमार न्यौपाने र प्रेस चौतारी काभ्रेका पूर्वअध्यक्ष नवराज बजगाई रहेको समितिले पुरस्कार सिफारिस गरेको थियो । पूर्वसञ्चार तथा सूचना प्रविधीमन्त्री रहेका एमाले पोलिट्व्युरो सदस्य गोकूलप्रसाद बाँस्कोटाले उनीहरुलाई सम्मान गरेका थिए ।
प्रेस चौतारीका संस्थापक मध्येका एक बाँस्कोटाले गठन गर्दा एमालेको जनसंगठनको रुपमा विकास गर्न नखोजिएको बताउँदै प्रेसले विचार नहेरीकन सत्य र न्यायको पक्षमा उभिनुपर्ने बताए । आफूले सामाजिक सञ्जाल विद्येयक प्रस्ताव गर्दा आलोचना गर्नेहरु नै अहिले समर्थनमा देखिएको भन्दै उनले आम सञ्चार ऐन र श्रमजीवी ऐन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले काभ्रेका मिडिया हाउसहरु संस्थागत चल्न नसकेको तर्क गर्दै यसलाई सदृढ गर्न जरुरी रहेको औंल्याए । प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष विश्वमणि सुवेदीले समाजवादी आन्दोलनमा भन्दै आफूहरु भ्रममा रहेको बुझेर आफूले गरेको क्षति पुर्ताल गर्न पुरानै घरमा फर्किएको बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव एवं बाग्मती प्रदेश इञ्चार्ज विष्णु तारुके, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, काभ्रे अध्यक्ष विनोदकुमार न्यौपाने, प्रेस चौतारी काभ्रेका इञ्चार्ज श्याम सापकोटा, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी लगायले पेशागत अधिकार, व्यसायिक पत्रकारिता र श्रमजीवीका मुद्धाबारे चर्चा गरेका थिए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अधिवेशनबाट निर्वाचित कार्यसमिति र अन्य विभिन्न पदमा निर्वाचित काभ्रेका सञ्चारकर्मीलाई कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
