काठमाडौँ । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ ।
शिक्षा पत्रकार समाजले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा वक्ताहरूले विश्वस्तरीय मानकको सूचीमा पुर्याउन विश्वविद्यालयलाई अनुसन्धान र सीपमूलक शिक्षालाई जोड दिँदै समुदायसँगको सम्बन्ध सुमधुर तुल्याउनुपर्ने आवश्यकता औँल्याइएका छन् ।
विश्वविद्यालयका कार्यबाहक उपकुलपति प्रा डा अच्युत वाग्लेले संस्थागत विकास र सुशासनका क्षेत्रमा केही चुनौती भए पनि आफूले रजिष्ट्रार हुँदा सुशासन कायम गर्न सक्दो भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले ३५ वर्षसम्म मानव स्रोत कसरी निर्धारण गर्ने भन्ने आधार निर्धारण नहुँदा विश्वविद्यालय र धुलिखेल अस्पतालका नेतृत्वबीचको मनमुटाव भएकाले विवाद बाहिर आएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको पहलमा गत माघ ४ गते बसेको विश्वविद्यालयको सभाले ती दुई संस्थाबीच पुनः सहकार्य जारी राख्नेसम्बन्धी सहजीकरण समितिको सुझावसहितको प्रतिवेदनलाई अनुमोदन गरेको थियो । विश्वविद्यालयको रिक्त उपकुुलपति चयनका लागि संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको संयोजकत्वमा रहेको खोज तथा सिफारिस समितिले छनोटको मापदण्ड परिमार्जन गरी अनुुसन्धान कार्यलाई कम अङ्कभार दिइएको तथा समितिका पदाधिकारीको नातेदार आवेदक भए पनि सिफारिसको निर्णयमा बस्न मिल्ने गराइएपछि विवाद बढेको थियो ।
सो विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाको कार्यकाल माघ ६ गते सकिएको थियो । कार्यकाल सकिए पनि थापालाई निरन्तरता दिन सिफारिस समितिले कुलपतिसमक्ष सिफारिस गरेको विषय पनि विवादमा आएको थियो । कार्यक्रममा शिक्षाविद् एवं सो विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयभित्रका समस्या नियन्त्रण गर्नै नसक्ने गरी बिग्रिनसकेको जिकिर गर्दै समुदायलाई साथमा लिएर अघि बढ्न सकेमा विद्यार्थीको आकर्षण बढ्ने बताउनुभयो ।
शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले खोज तथा सिफारिस समिति पुरानै ‘लिगेसी’को निरन्तता भएको बताउनुभयो । उहाँले सिफारिस समितिले उपकुलपति छनोटको मूल्याङ्कन गर्ने कार्यविधिमा अनुसन्धानलाई बढी अङ्कभार दिने व्यवस्था संशोधन गरेकामा चिन्ता व्यक्त गर्नुभयो । धुलिखेल नगरपालिका प्रमख अशोक व्याञ्जुले समयको माग र सीपमूलक शिक्षामा विश्वविद्यालयले ध्यान दिन र स्थानीयवासीसँग समन्वय बढाउन आग्रह गर्नुभयो ।
सिफारिस समितिले उपकुलपति पदमा गरेको पहिलोपटक सूचना जारी गर्दा १७ जनाको आवेदन परेको थियो । त्यसमा चिकित्सा क्षेत्रका उम्मेदवार आवेदन गर्न नमिल्ने खालको कार्यविधि बनाइएको भन्दै कुलपतिसमक्ष निवेदन दिएपछि उहाँको आग्रहमा समितिले माघ १८ मा दोस्रोपटक आवेदनका लागि सूचना प्रकाशन गरेको छ ।
