बनेपा । गत असोजको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकका सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जिवित कार्यक्रम प्रभावित बनेको छ ।
कार्यक्रम सञ्चालनका लागि जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा ब्याप्त पानीको समस्यालाई सम्बोधन गर्न तथा समुदायको नेतृत्वमा सोही क्षेत्रका पानीका मुहान संरक्षण गर्ने अभियानमा सम्झौता गरेका थिए ।
प्रकृतिमा आधारित समाधानका माध्यमबाट मुलधार संरक्षण कार्यक्रमका लागि सन् २०२४ जनवरी पहिलो साता अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सात स्थानीय तहका जनप्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रम सञ्चालनको तयारीस्वरुप स्थानीय तहमा विभिन्न समुदायमा छलफल चलाउने क्रममा रहँदा गत असोजमा आएको बाढीपहिरोका कारण उक्त अभियान रोकिएको जनाइएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार क्षतिग्रस्त आयोजना पुनिर्निर्माणसँगै पानीका मुहान पुनर्जिवीत कार्यक्रमलाई समेटिनुपर्ने देखिएको छ ।
पानीका मुहान पुनर्जिवीत कार्यक्रमका लागि इसिमोडले प्राविधिक सहयोग गर्ने गर्दछ भने स्थानीय तहका प्रमुखले उक्त कार्यमा आ–आफ्नातर्फबाट सहयोग र सहकार्य गर्नुपर्ने सम्झौता गरिएको थियो । जिल्लाका धुलिखेल, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिका तथा रोशी, बेथानचोक र तेमाल गाउँपालिकाले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुलको पहिचान, अवस्थाको मुल्याङ्कन तथा संकटासन्न मुहानको पुर्नजिवित गर्ने नयाँ अभियानमा ऐक्यबद्धता जनाएका थिए । नमोबुद्ध नगरपालिकामा भने वडा नं ३ र ५ मा सुकेको दुई मुहानमा सुकेको मुहान फर्काउन पोखरी निर्माण गरिएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार अन्य दुई सुकेको मूल फर्काउने विषयमा प्रक्रिया भइरहेको छ । सन् २०२३ मा गरिएको सर्वेक्षणअनुसार नमोबुद्ध नगरमा रहेका ४ सय ४४ मुहानमध्ये २० प्रतिशत मुहान सुकिसकेको अवस्थामा छन् । भएका अधिकांश मुहानमा पनि पानीको प्रवाहमा कमी हुँदै आएको जनाइएको छ ।
पाँचखालका नगरप्रमुख महेश खरेलले विभिन्न कारण जोखिममा परेका पानीका मुहान संरक्षण कार्यक्रमले सुकेका मुल पुनर्जिवीत हुने अपेक्षा गरिएपनि अभियानका क्रममा मुहान पहिचान भइरहेको अवस्थामा बाढीपहिरो प्रभाभावितको राहत उद्धार तथा खानेपानीलगायत क्षतिग्रस्त संरचनामै समय दिनुपरेकाले अभियान पूभावित बनेको बताउनुभयो ।
इसिमोडका अनुसार हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमशः सुक्दै जानु आजको प्रमुख समस्या भएको र पहाडी समुदायको पिउने पानी, गाईवस्तु तथा बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्युनिकरण गर्नु अहिलेको मुलभुत आवश्यकता देखिएको हो । तर, अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएकाले इसिमोडले अभियान थालेको जनाइएको छ । कार्यक्रम सफल भए काभ्रेपलाञ्चोकका अन्य छ स्थानीय तहमा क्रमशः लागू गर्दै जाने दीर्घकालीन लक्ष्य बनाइएको थियो ।
