धुलिखेल । जिल्ला कृषि विकास कार्यालय काभ्रेले कृषि कर्जा तथा बीमामा कृषकहरुको पहुँच बढाउन बैंक, बीमा कम्पनी र कृषकहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
बिहीबार धुलिखेलमा सम्पन्न कार्यक्रममा सम्बन्धित सरोकारवालाहरुको उपस्थित रहेको थियो । कार्यालयका प्रमुख कुलप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका बनेपा शाखा प्रमुख जगन्नाथ अधिकारी, बीमा प्राधिकरण कृषि शाखाका सहायक निर्देशक सीता पाण्डे, निक्षेप तथा कर्जा सुरक्षण कोषका विभागिय प्रमुख मन्दिरा थपलिया र कृषि कार्यालयका प्रमुख दवाडीले फरकफरक कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा देशमा ०६९ सालदेखि किसानका लागि बाली बीमाको कार्यक्रम लागू भए पनि हालसम्म जम्मा ९ प्रतिशतले मात्र बाली बीमा गराएको जानकारी दिइएको थियो । किसानहरुकै लागि संचालित पशुबीमामा भने उल्लेख्य मात्रामा किसानहरु सहभागी भएका छन् ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख दवाडीले काभ्रेपलाञ्चोक जिल्लामा भएका कृषकहरुका लागि सहज र सरल कर्जा प्रवाह तथा बाली बीमाका बारेमा जानकारी गराउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । दवाडीले जिल्लामा भएका कृषकहरुको अवस्था, कर्जा र बीमा पहुँच तथा समस्याका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसअनुसार जिल्लामा ६९ हजार ९ सय ४१ कृषक परिवार मध्ये ९ हजार ६ सय २९ कृषक परिवारले कृषि ऋण लिएका छन् । ३० हजार ७ सय ५६ परिवारका लागि कृषि ऋण आवश्यक भएको तथ्यांक छ । यस्तै १२ हजार ३ सय ७९ कृषक परिवारले कृषि क्रियाकलापका लागि बीमा गरेका छन् ।
चेतनाको अभाव, अनौपचारिक बैकिङ पहुँच, संस्थागत ब्यवसायीक कृषि विकासको कमी, दुर्गम क्षेत्रमा कम पहुँच, प्रिमियमको ८० प्रतिशत अनुदान हुँदा पनि ब्यापकता हुन नसकेको, सहि तथ्यांकको कमी लगायतले धेरैजसो किसानलाई कार्यक्रममा सहभागी गराउन नसकिएको दवाडीले बताउनुभयो । कार्यक्रममा नेपालमा हालसम्म भएको कृषि बीमाको अवस्था, प्रिमियमको भुक्तानी, सरल कर्जा तथा कर्जा प्रवाहको अवस्थाका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा राष्ट्रिय बाणिज्य बैक बनेपा शाखाका प्रमुख अधिकारीले कृषि क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाहको अवस्था र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै बीमा प्राधिकरण ललितपुरकी सहायक निर्देशक सीता पाण्डेले कृषि बीमाको अवस्था, सम्भावना तथा कृषकको पहुँचका सन्र्दभमा कार्यपत्र प्रस्तुत गर्नुभयो । निक्षेप तथा कर्जा सुरक्षण कोषकी प्रवन्धक निर्देशक मन्दिरा थपलियाले सहुलियत कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा सोहि कार्यालयका अधिकृत दिनेश कोइराला, बागवानी विकास केन्द्र पाँचखालका प्रमुख विष्णु बोगटी, रेशम विकास केन्द्रका प्रमुख कृष्ण धिताल, पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा सिर्जा वाग्ले, पनौती नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख डा दिपिका रेग्मी लगायतको सहभागिता थियो ।
कृषि विकास कार्यालय काभ्रेले कृषकहरुले लगाएको कृषि बालीको बीमा, कृषि कर्जा र कृषकहरुको पहुँच बढाउन वित्तीय क्षेत्र, बीमा कम्पनी र कृषकहरुसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो । अन्तक्र्रियाबाट कृषि बीमा र सहुलियत कर्जामा भएका समस्याहरुको पहिचान गरी समाधानको प्रयत्न गरिने निश्कर्ष निकालिएको छ । विभिन्न कार्यालयका प्रमुख वा प्रतिनिधीहरुले कार्यक्रममा आफ्ना कार्यपत्रमा किसानमुखी कार्यक्रम ल्याएको उल्लेख गरे पनि किसानका लागि बीमा र कृषि ऋण सहज नभएको किसानहरुले गुनासो गरे । पाँचखालमा किसान बद्रीप्रसाद ढुंगानालगायत अन्य किसानहरुले सम्बन्धित सरोकारवालाहरुले किसानमुखी कार्यक्रम ल्याउनुपर्नेमा सुझाव दिनुभयो । यस्ता विषयमा कुनै समस्या भएमा कार्यालयमा सम्पर्क गर्न र कसरी किसानलाई सुविधा दिन सकिन्छ भन्नेमा आफूहरु लागिरहने सहभागीहरुले बताएका थिए । कृषि विकास कार्यालयका प्रमुख दवाडीले यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि संचालन गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *