मण्डनदेउपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईंले पार्टीमा कुनै विवाद नरहेको बताउनुभएको छ ।
बुधबार कांग्रेस मण्डनदेउपुर नगरपालिका–१० को आयोजनामा भएको १०० दिने अभियान र क्रियाशील सदस्यता वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कांग्रेसको जग एकदमै बलियो भएकाले कुनै पनि शक्तिले पार्टीलाई कमजोर बनाउन नसक्ने उहाँको भनाइ थियो ।
कांग्रेसको सिद्धान्त, व्यवहार र कार्यशैली अरुको भन्दा फरक भएको र जनताका समस्यामा पार्टी केन्द्रीत रहेकाले कांग्रेस सधैं जनताको प्यारो पार्टी भएको उहाँको दाबी थियो । केही नयाँ भनिएका दलहरुले पार्टीका काममा भ्रम छरेकाले इतिहास नै नभएका पार्टीको पछि लाग्न नहुने हुमागाईंले नेता कार्यकर्तासँग अनुरोध गर्नुभयो । केही कमजोरी भएका भए सच्याउँदै अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
अर्का केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसले विभिन्न जाती, भाषा, धर्मलाई समेट्दै हिँडेकाले पार्टी सबैको साझा बनेको बताउनुभयो । सबैको एकतालाई बलियो बनाउन सके पार्टी यसैपनि बलियो हुने उहाँको भनाइ थियो । नेता अच्युत पौडेलले पार्टीलाई कमजोर बनाउने चलखेल धेरै भएकाले सजग हुनुपर्ने औंल्याउनुभयो । पार्टीमा गलत गर्ने कोही भए कारबाही गरिने उहाँको भनाइ थियो । कार्यक्रममा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले कांग्रेसका कार्यकर्तालाई फकाएर अर्को पार्टीमा लैजानेहरु पनि भएकाले साथीहरुका गुनासालाई सम्बोधन गर्न नेतृत्वले सोच्नुपर्नेमा जोड दिँदै कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति ठाकुर न्यौपाने, मण्डनदेउपुर कांग्रेसका नगर सभापति कश्यप पौडेल, उपसभापति विष्णुमणि नेपाललगायतले कार्यक्रम सफलताको कामना दिँदै पार्टीलाई बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रम कांग्रेसका वडासभापति हरिबहादुर श्रेष्ठको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *