बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ३२ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । २०५० साल फागुन ६ गते स्थापना भएको यस संस्थामा हाल ५७ हजार ५८९ शेयर सदस्य र ११ हजार सात सय ७९ जना शैक्षिक बालबचतकर्तासहित ६९ हजार तीन सय ६८ जना सदस्य छन् ।
काभ्रे जिल्लाको तत्कालीन खोपासी र चलालगणेशस्थान गाविसबाट विस्तारित भएको यस संस्थाले हाल बागमती प्रदेशका काभ्रे जिल्लाको अलावा भक्तपुर, काठमाडौं र ललितपुर जिल्लासहित चार वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरी सात वटा सेवा कार्यालय र नौ वटा सेवा केन्द्रमार्फत आफ्ना शेयर सदस्य एवं शैक्षिक बालबचतकर्ताहरूलाई विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले जारी गरेको प्रतिवद्धतामा संस्थाले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेको उल्लेख गरिएको छ । साथै सहकारी मूल्य मान्यताका आधारमा प्रतिस्पर्धी, व्यवसायिक एवं दिगो वित्तीय सहकारी बन्ने लक्ष्य राखेको जनाइएको छ । ३२ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाले गुणस्तरीय, व्यवसायिक एवं दिगो वित्तीय सहकारीको परिकल्पना अनुरुप आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
मंगलबार यस संस्थाको ३२ औं स्थापना दिवस कार्यक्रम संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व र पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष हिटलर शाक्य तथा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार प्रदिप थापा, संस्थाका संस्थापक अध्यक्ष भरतप्रसाद शर्माको आतिथ्यतामा संस्थाका विभिन्न समिति, उपसमिति, पूर्वसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमिति, कर्मचारी एवं सदस्यहरुको उपस्थिती थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले सहकारीहरु पारदर्शी हुन आवश्यक भएको बताउनुभयो । उहाँले तीन वटै तहका सरकारले समस्याग्रस्त सहकारीको पहिचान गरि कारबाही गर्दै वचतकर्ताको रकम फिर्ता गराउन पहल गर्नुपर्ने बताउँदै केही सहकारीले समग्र सहकारीलाई समस्या परेको धारणा राख्नुभयो ।
बनेपा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष हिटलर शाक्यले नेपालीहरुको खुट्टा तान्ने प्रवृत्तिले देश र समाजपछि परेको बताउँदै फराकिलो मन बनाएर काम गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा उत्कृष्ट शाखा तथा कर्मचारी लगायतलाई सम्मान र पुरस्कृत गरिएको थियो भने प्रमुख कार्यकारी अधिकृत केबी लामालाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । सोही अवसरमा २७ जनाले रक्तदान पनि गरेका थिए ।
