बनेपा । बनेपा नगरपालिका वडा नम्बर–१० ले आफ्नो वडाभित्र टोल सुधार संस्थाहरुको गठन गरेको छ ।
नेपाल सरकारको नीतिअनुरुप नगरपालिकाले सबै वडामा टोल सुधार संस्था गठन गर्ने क्रममा वडा नम्बर १० ले पनि टोल सुधार संस्थाहरु गठन गरेको हो ।
यस वडाभित्र विभिन्न १९ वटा संस्थाहरु दर्ता भएका छन् । ती संस्थाले सम्बन्धित टोलभित्रका विकास निर्माणका साथै टोलमा हुने सबैखाले विवाद र समस्यामा समन्वयकारी भूमिका खेल्नेछन् ।
फागुन ४ गते वडाले सबै टोल सुधार संस्थाका कार्यसमिति सदस्य तथा पदाधिकारीलाई एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो । जसमा यस्ता संस्थाले के के गर्न पाउने लगायतमा छलफल र जानकारी गराइएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
नगर उपप्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यस्ता संस्थाहरुको कार्य अवधि तीन वर्षको रहने र संस्थाहरु नगरपालिकाको कार्यपालिका, वडा पछि तेस्रो वरियतामा रहने जानकारी दिइएको थियो । संस्थाका प्रतिनिधिहरुले नबुझेका विषयमा वडाध्यक्ष र उपप्रमुखसँग जिज्ञासा राखेका थिए । उनीहरुका जिज्ञासालाई सम्बोधन गर्दै उपप्रमुख सापकोटाले कुनै पनि दबाब र प्रभावमा नपरि काम गर्न र केही समस्या आए नगरपालिका वा वडामा जानकारी दिन निर्देशन दिनुभयो । यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तर रहने वडाध्यक्ष खड्काले बताउनुभयो ।
