मंगलटार । इलाका प्रहरी कार्यालय मंगलटारमा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालनमा ल्याइएको छ ।
नेपाल प्रहरीको नवप्रवर्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको कार्यालयले जनाएको छ ।
विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा प्रहरी कार्यालयमा स्थापित उक्त पुस्तकालयमा कानुनको १९ खण्डका पुस्तक, नेपाली र अङ्ग्रेजी दुवै भाषाका साहित्यिक पुस्तक, धार्मिक पुस्तक, सरकारी सेवा प्रवेश पूर्वतयारीसम्बन्धी पुस्तक, नेपाल प्रहरीद्वारा प्रकाशित विभिन्न पुस्तक राखिएको छ । विभिन्न कारणले शान्ति सुरक्षाको प्रयोजनार्थ नियन्त्रणमा लिइएका व्यक्तिलाई पुस्तकालयमा राखी सम्बन्धित कसुरलगायतका बारे ज्ञान दिलाइ अब त्यस्तो कार्यमा सरिक नहुने गरी सकारात्मक रुपान्तरण गराउनसमेत पुस्तकालय महत्वपूर्ण हुने विश्वास लिइएको छ ।
सम्भावनाको संसार देखाउने थलोको रुपमा सर्वसाधारणलाई समेत पहुँच पुर्याइने उक्त पुस्तकालयलाई सोहीअनुसार व्यवस्थित गरिने कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले बताउनुभयो । उहाँका अनुसार विद्यालयसँग प्रहरी कार्यक्रम अन्तर्गत विद्यार्थीलाई प्रहरी कार्यालयको गतिविधि, अध्ययनका लागि सहयोगी सामग्रीको उपलब्धतामा समेत पुस्तकालय महत्वपूर्ण हुनेछ ।
यसअघि प्रहरी कर्मचारीको बौद्धिकता बढाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घुम्ती पुस्तकालय सञ्चालनमा ल्याएको छ । कार्यालयले प्रहरीको व्यवसायिक, व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सकारात्मक सोच, ज्ञान, बुद्धि–विवेक र आत्मस्फूर्ति वृद्धि गराउन मद्दत पुगोस् भन्ने उद्देश्यले घुम्ती पुस्तकालयको अवधारणा ल्याएको जनाएको हो ।
काभ्रेका ४२ प्रहरीचौकीमा पाँच सय ८० प्रहरी कर्मचारी कार्यरत छन् । सबै प्रहरीलाई एउटा पुस्तक पुग्ने गरी सङ्कलन गर्ने र पढिसकेपछि जहाँ नजिक चौकी पर्छ त्यस ठाउँमा हस्तान्तरण गरिनेसमेत व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *