धुलिखेल । महाशिवरात्री तथा २६३ औं सेना दिवस–२०८१ को अवसरमा नेपाली सेनाको धुलिखेलस्थित कालीजंग गणले विविध गतिविधिहरू समेटेको एक प्रदर्शनी आयोजना गरेको छ ।
प्रदर्शनीमा फोटो, पोशाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरूमार्फत आम नागरिकलाई जानकारी प्रदान गर्ने उद्देश्य राखिएको सेनाले जनाएको छ । मंगलबार श्री नं. २६ बाहिनीपति सहायक रथी श्री अशोक गुरुङको प्रमुख आतिथ्यतामा धुलिखेल नगरपालिका वडा नं. ७ अड्डाबजार स्थित फुटबल ग्राउण्डमा प्रदर्शनी सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुखहरू, विभिन्न कार्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सञ्चारकर्मीहरू, व्यवसायीहरू, विद्यालय र कलेजका शिक्षक तथा विद्यार्थीहरू, भूतपूर्व सैनिक र आश्रित परिवारहरू तथा स्थानीय जनसमुदायहरू गरी करिब ६०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, ऐतिहासिक एकीकरण पदमार्ग, नेपाली सेनामा प्रचलित पोशाकहरू, नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका पोशाकहरू, बम डिस्पोजलसम्बन्धी जानकारी, विभिन्न सैनिक सामग्री तथा उपकरणहरू, विपद् व्यवस्थापनसम्बन्धी विभिन्न फोटो तथा भिडियोहरू, विपद् व्यवस्थापन सामग्रीहरू तथा डेमोस्ट्रेशनको प्रदर्शनी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *