बनेपा । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि ३० लाखको हाराहारीमा आम्दानी गरिरहनुभएका विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त हुनुहुन्छ ।
चार वर्षअघि ‘कोरोना महामारीकाल’ मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवयासायी बन्नुभएको हो । जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छन् । यस्तैमध्येका एक हुनुहुन्छ विष्ट । उहाँ आफ्नै दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा हुनुहुन्छ । दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्नसक्ने देखिएको छ ।


अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै हुनुहुन्छ । उहाँले आफ्नै माटोमा बगाउनुभएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरू भइसकेको छ । उहाँले स्ट्रेबरीखेतीका लागि करिब ३० लाख लगानी गर्नुभएको छ । गत वर्ष सबै खर्च कटाएर ३० लाख बचत गर्नुभएको थियो । उहाँ यसवर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा हुनुहुन्छ । विष्टले हाल स्ट्रेबरी मात्र लगाउनुभएको छैन, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरापालनसमेत पनि गरिरहनुभएको छ ।
हाल उहाँको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि उहाँले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिनुभएको बताउनुभयो । विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै हुनुहुन्छ । साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरूवासमेत उत्पादन गरेर बेच्ने गरिरहनुभएको सुनाउनुभयो । उहाँको अनुभवमा स्ट्रबेरी आफैँमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।
विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिनुभएको छ, जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ । उहाँले स्ट्रबेरीखेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरूवा रोप्नुभएको हो । उहाँले चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताउनुभयो । उहाँले गत वर्ष ४० हजार बिरूवा उत्पादन गरी केही बिक्री गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *