धुलिखेल । एसइई परीक्षा २०८१ मा सामुदायिक र संस्थागत गरी २१६ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउने छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्क अनुसार यस वर्षको एसइई परीक्षामा ३२ वटा विद्यालयबाट नियमिततर्फ १० जनाभन्दा कम विद्यार्थी सहभागी हुने भएका छन् भने नियमित र ग्रेडवृद्धि गर्ने विद्यार्थीसमेत गर्दा २० वटा विद्यालयबाट विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकका प्रमुख देवका ढकालले यस पटक जिल्लाका तीन वटा विद्यालयबाट नियमिततर्फ एक जना विद्यार्थी पनि परीक्षामा सहभागी नहुने जानकारी दिनुभयो । जिल्लाको ज्ञानोदय माध्यमिक इङ्ग्लिस मावि नमोबुद्ध, फेमस इङ्ग्लिस बोर्डिङ स्कुल बनेपा र सगुन विद्या मन्दिर खनालथोकबाट ग्रेडवृद्धिका लागि विद्यार्थी परीक्षामा सहभागी हुनेछन् भने नियमिततर्फ कुनै विद्यार्थी सहभागी नहुने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
एकाइको तथ्याङ्क अनुसार ज्ञानोदयबाट तीन जना, फेमसबाट एक जना र सगुनबाट तीन जना विद्यार्थी ग्रेडवृद्धिका लागि परीक्षामा सहभागी हुनेछन् । यस वर्षको एसइई परीक्षामा सेतीदेवी मावि मेच्छेबाट आठ जना, रत्न चुण्डेश्वर माविबाट सात जना, दाप्चा मावि दाप्चाबाट आठ जना, ज्ञानोदय माध्यमिक इङ्ग्लिस स्कुलबाट तीन जना, श्वेतवराह मावि टुकुचाबाट एक जना, काभ्रे बहिरा विद्यालय बनेपाबाट नौ जना विद्यार्थी, हिमालय इन्टरनेसनल एकेडेमी धुलिखेलबाट पाँच जना, नैमिषारण्य गुरुकुल विद्यालयबाट चार जना, देउराली मावि वित्र्ता देउरालीबाट सात जना, भक्तेश्वर मावि बनेपाबाट नौ जना, शारदा माविबाट सात जना, भूमिमाता मावि तिप्चोकबाट पाँच जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने भएका छन् ।
ज्ञानज्योति इङ्ग्लिस बोर्डिङ स्कुलबाट चार जना, सगुन विद्या मन्दिरबाट तीन जना, भुमेस्थान माविबाट आठ जना, खाँडादेवी माविबाट सात जना, सूर्योदय मावि सानोबाङ्थलीबाट आठ जना, अरनिको मावि पोखरीचौरीबाट आठ जना, नागदे वी मावि माटेबाट नौ जना र भुमेस्थान मावि लुर्पुङबाट नौ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएको शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकका प्रमुख ढकालले जानकारी दिनुभयो । यस वर्षको एसइई परीक्षामा जिल्लाबाट नियमिततर्फ पाँच हजार ७ सय ८९ जना र ग्रेडवृद्धिका लागि ६ सय २ जना गरी कुल छ हजार ३ सय ९१ जना परीक्षार्थी सहभागी हुने छन् । परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये १ सय ९६ जना प्राविधिक भारका रहेका छन् भने परीक्षाका लागि जिल्लाभर ३४ वटा परीक्षा केन्द्र तोकिएको छ ।
