पनौती । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
सोमबार काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष एवं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीबाट ऋण लिएर नतिर्नेले ‘सबै सहकारी गलत हुन्’ भनेर ‘स्यालहुँइया’ मच्चाइएको उल्लेख गर्दै गलत गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभयो । समस्याग्रस्त सहकारी समाधान समिति तथा मन्त्रालयको विभागले सहकारीको समस्या समाधानार्थ काम गरिरहेको मन्त्री अधिकारीले बताउनुभयो । केही नमिलेका विषयलाई प्रतिस्थापन विधेयकले सम्बोधन गर्नेसमेत उहाँले बताउनुभयो । विधिविपरीत गलत क्रियाकलाप गर्ने सहकारी सञ्चालकसमेतको सम्पत्ति जफत गरेरै भए पनि पीडितको बचत रकम फिर्ता गर्ने उहाँको दाबी थियो । केही महिनामै ६ हजार ६ सय भन्दा बढी बचतकर्ताको रकम फिर्ता गराइसकेको र अब छिट्टै केही बचतकर्ताको रकम फिर्ता गर्ने चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
मुलुकभरका ३१ हजार ४ सय सहकारीमा केहीले गलत गरे पनि सबै खराब हो भन्ने भ्रम फैलाइएको मन्त्री अधिकारीले दोहोर्याउनुभयो । फरक प्रसङ्गमा उहाँले यसअघिका अस्थिर सरकारले नागरिकको सपना पूरा नगर्ने भएकाले स्थिरताका लागि दुई ठूला पार्टी कांग्रेस र एमालेले संयुक्त सरकार बनाएको बताउनुभयो । निर्वाचनमा जाँदा सबै राजनीतिक दलले पूर्जा दिलाउँछौँ, बासको ‘ग्यारेन्टी’ गर्छौं भनेर जनतासामु गरिएको प्रतिबद्धता स्मरण गर्न आग्रह गर्दै उहाँले मालपोत ऐन र नापी ऐन नयाँ ल्याउन लागेको बताउनुभयो ।
कार्यक्रममा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, विशिष्ठ अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतलगायतले संस्थालाई शुभकामना दिनुभएको थियो । रजत जयन्तीको अवसर पारेर संस्थाले उत्कृष्ट कर्मचारी, उत्कृष्ट वचतकर्ता, संस्थाका छोराछोरीमध्ये एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, पूर्वकर्मचारीलगायत संस्थाका ३४३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । करिब २१ हजार सदस्य रहेको ज्योति मिर्मिरे ६ वटा संस्था एकीकरण भएर कारोबार गरिरहेको संस्थाका अध्यक्ष उद्वव सापकोटाले जानकारी दिनुभयो । हाल विभिन्न ८ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको संस्था विसं २०५६ सालदेखि संचालनमा छ ।
