धुलिखेल । जिल्ला सदरमुकाम धुलिखेलमा वन डढेलो व्यवस्थापनसम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय काभ्रेको आयोजनामा वन डढेलो नियन्त्रण द्रुत क्रियात्मक वललाई वन डढेलो व्यवस्थापन तालिम दिइएको हो । तालिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत वन कार्यालयका कर्मचारीको सहभागीता रहेको थियो । तालिम मंगलबार र बुधबार संचालन भएको थियो । तालिमको उद्घाटन कार्यक्रम काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले नेपालमा विपद् व्यवस्थापनका लागि भइरहेका प्रयास र संगठनात्मक व्यवस्थाबारे जानकारी दिनुभयो । केन्द्रीयस्तरदेखि वडा तहसम्म विपद् व्यवस्थापन संयन्त्र रहेको उहाँले बताउनुभयो । स्थानीय सरकारले विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्नेमा उहाँको जोड थियो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले सहकार्य गर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले वन डढेलोसम्बन्धी एकीकृत सूचना र जानकारीका लागि डढेलो नियन्त्रण कक्षको स्थापनामा जोड दिनुभयो । वन डढेलोबाट जनधनको क्षतिसँगै जडिवुटी र वन्यजन्तुको पनि क्षति हुने भएकाले यसतर्फ सचेतनाका कार्यक्रमपनि सँगै अघि बढाउने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले विपद् नियन्त्रणका लागि सामुहिक प्रयास जरुरी रहेकोमा जोड दिनुभयो । कमाण्ड, कोअर्डिनेशन र कम्युनिकेशन महत्वपूर्ण हुने उहाँको भनाइ थियो । कतिपयले दुःख दिने नियतले गलत सूचनासमेत दिने गरेको बताउँदै उहाँले विपद् व्यवस्थापनमा बर्दी लगाएका प्रहरी मात्र नभई विनाबर्दीका प्रहरीको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । काभ्रे प्रहरीले नेपालमै पहिलोपटक वन डढेलो लगाउनेलाई पक्राउ गरेर मुद्धा चलाएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । जिल्लामा डढेलोसम्बन्धी घटनामा ८ जनालाई नियन्त्रणमा लिइएकोमा ५ वटा मुद्धा चलाइएको र डढेलो लगाउने कार्य क्षम्य नहुने भन्दै एसपी खड्काले कानुनी दायरामा ल्याइने बताउनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमै डिभिजन वन कार्यालय काभ्रेका डिभिजन वन अधिकृत कृष्णबहादुर थापाले मानवीय कारण डढेलोका घटना बढी हुने गरेको बताउँदै वन डढेलो नियन्त्रण कार्य भौगोलिक विविधता, स्रोतसाधनको कमी, जंगलकाबीचको वस्ती चुनौतीपूर्ण रहेको बताउनुभयो । डढेलोका कारण हुने विनाशको दर नेपालमा उच्च रहेको उहाँको भनाइ थियो । जोखिम न्यूनिकरणका लागि साझा प्रतिवद्धता जरुरी रहेको भन्दै उहाँले दोस्रो चरणमा थप क्षेत्र समेट्ने गरी कार्यक्रम ल्याइने बताउनुभयो ।
काभ्रेमा के छ डढेलोको अवस्था ?
काभ्रे जिल्लामा पछिल्ला केही वर्ष यता वन डढेलाबाट हुने क्षति बढ्दै गएको छ । चालु आर्थिक वर्षमा आगलागीका ८६ घटना भएका छन् । आगलागीका परेर एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । यस्तै १५ वटा चौपाया मरेका छन् । पक्कीसहित २८ घर र २२ गोठमा क्षति पुगेको छ । यस्तै गत आर्थिक वर्षमा २२२ वटा आगलागीका घटना भएका थिए । जसमा दुई जनाको मृत्यु भएको थियो । ८ जना घाइते भएका थिए । ८५ चौपाया मरेका थिए भने १७ जना घाइते भए । ९२ घर र ४५ गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गत वर्ष कूल ५२५ रोपनी क्षेत्रफलमा आगलागी भएको थियो ।
संलग्नलाई के हुँदैछ ?
गत वर्ष वनमा डढेलो लगाउने कार्यमा संलग्न ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा ५ जनामाथि मुद्दा चलाइएको र एक जना थुनामा छन् । जिल्लामा हाल भइरहेका डढेलोका घटनामा ९० प्रतिशत मानवीय संलग्नता रहेको र त्यसमा पनि ६५ प्रतिशत जानीजानी आगो लगाइएको पाइएको छ । यस्ता घटनामा संलग्नको सूचना दिने व्यक्तिलाई पुरस्कार र दोषीलाई कारबाही पनि हुने गरेको छ । तर पनि डढेलोका घटनामा कमी आउन नसकेको तथ्यांक छ । सबै क्षेत्रका नागरिकबाट निगरानी राख्नु पर्ने र सचेतना कार्यक्रम पनि संचालनको जरुरत परेका कारण पछिल्लो पटक धेरै डढेलोका घटना हुने क्षेत्रका व्यवस्थापनमा सक्रिय जनशक्तिलाई डढेलो व्यवस्थापनसम्बन्धि तालिम दिइएको डिभिजन वन कार्यालयले जनाएको छ । यस्ता तालिमबाट वन डढेलोलाई केही हदसम्म भए पनि कम गराउन सकिने कार्यालयले अपेक्षा लिएको छ ।
