धुलिखेल । स्थानीय तहले पाँच महिनासम्म प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेका बाढीपहिरो पीडितले अझै सरकारी राहत–अनुदान पाउन सकेका छैनन् ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटक–पटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ । समितिले पछिल्लोपटक गत बिहीबार प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरेको हो । राहत–अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । जिल्लाका १३ स्थानीय तहमध्ये पाँच वटाले मात्रै अस्थायी आवास निर्माणका लागि लाभग्राहीको एकीन विवरण टुङ्गो लगाएको समितिले जनाएको छ ।
जिल्लाका धुलिखेल र नमोबुद्ध नगरपालिका तथा रोशी, चौरीदेउराली र महाभारत गाउँपालिकाले लाभग्राहीको विवरण प्राधिकरणको विपद् पोर्टलमा प्रविष्ट गरेका छन् । अति प्रभावित मानिएका बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाले भने पूर्ण विवरण भरेका छैनन् । विवरण छानबिन गरिरहेको र केही हप्तामै विवरण पठाउने सम्बन्धित पालिकाले जनाएका छन् । विवरण अनुसार धुलिखेलमा ८६, नमोबुद्धमा आठ सय २४, रोशीमा पाँच सय ४८, चौरीदेउरालीमा दुई सय ७८ र महाभारत गाउँपालिकामा १७ परिवारको तथ्याङ्क छ । समितिले ती तहको अस्थायी आवास निर्माणका लागि रकम निकासा गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ । स्थानीय तहले अस्थायी आवास निर्माणका लागि लाभग्राहीको विवरण पोर्टलमा प्रविष्ट गरी स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने प्रावधान रहेको छ, भने जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन भएर प्राधिकरणमा पुगेपछि मात्रै रकम निकासा हुनेछ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटक–पटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताउनुभयो ।
समितिद्वारा अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षा र बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो, भने छ जना अझै वेपत्ता छन् ।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८ सय ४४ घर पूर्ण र ६ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ३ हजारदेखि ३५ सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *