धुलिखेल । मन्त्रिपरिषद्को निर्णयअनुसार काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकी निर्माणार्थ बिहीबार जग्गा हस्तान्तरण गरिएको छ ।
सरकारको नाममा कायम रहेको भोगचलनका ती दुई स्थानीय तहमा चौकी निर्माणार्थ दीर्घकालीनरूपमा जग्गाको प्रमाणपत्र हस्तान्तरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी नमोबुद्धको मेथिनकोट र तेमालको पोखरी नारायणस्थानमा प्रहरी चौकी निर्माणका लागि छ–छ रोपनी जमिनको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालयलाई दिइएको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे । चैत ४ गते सरकारले दुई स्थानीय तहमा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । नमोबुद्ध नगरको भकुण्डेमा चौकी निर्माणका लागि साविक मेथिनकोट–६ मा रहेको कित्ता नं ८५ को छ रोपनी तथा साविक पोखरीनारायणस्थान–३ तेमालका लागि ४६३ नम्बरको छ रोपनी जमिन दिने निर्णय गरिएको थियो ।
