जनस्वास्थ्य कार्यालय काभ्रेको अर्धवार्षिक समीक्षा

धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेले कार्यालयको अर्धवार्षिक समीक्षा तथा पत्रकार अन्तक्र्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
कार्यालयले धुलिखेलमा आयोजना गरेको कार्यक्रममा अर्धवार्षिक प्रगति तथा बाँकी कार्यक्रमहरुका बारेमा पत्रकारहरुलाई जानकारी गराएको हो । कार्यक्रममा दिइएको जानकारीअनुसार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा समग्र खोपमा ५० प्रतिशत प्रगति गरेको छ । जसमा एचपीभी खोप अभियान अन्तर्गत भने जिल्लाका १६ हजार १०० किशोरीलाई खोप लगाउने लक्ष्य राखेकोमा १५ हजार ८०६ अर्थात लक्ष्यको ९८ प्रतिशतलाई खोप लगाइएको जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप खेर जाने दर भने बढेको छ । यसलाई न्यूनिकरणका लागि कार्यालयले सक्रियता देखाइरहेको छ । गत वर्ष बिसिजी खोपमा १०९ प्रतिशत प्रगति भएकोमा यस वर्ष पुस मसान्तसम्म ४६ प्रतिशत प्रगति भएको छ । यस्तै एचआइभी परीक्षण २७ जनामा गरिएकोमा कसैको पनि पोजेटिभ देखिएको छैन भने कुष्ठरोग पनि नियन्त्रणमा रहेको छ । जिल्लामा प्रति एकलाख जनामध्ये १ जनामा मात्र यो समस्या देखिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरि औलो रोग जिल्लामा एक जनामा पाइएको छ । त्यो पनि स्थानीय व्यक्ति नभइ अन्य जिल्लाबाट काभ्रेमा बसोबास गरेका बिरामी भएको कार्यक्रममा जानकारी दिइयो । यसको परीक्षण जिल्लाका सबै स्वास्थ्य चौकीमा हुँदै आएको छ । उता डेंगी नियन्त्रणमा भने निकै चुनौती देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताउनु भयो । यसका लागि सबै पालिकामा सतर्कता अभियान संचालन गरिएको भए पनि देशभरि उस्तै समस्या भएकाले काभ्रेमा पनि यसलाई नियन्त्रणका लागि ठूलो चुनौती देखिएको उहाँको भनाइ छ । साउनयता जिल्लामा ६९३ जनामा डेंगी संक्रमण भएको थियो ।


यसैगरि राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रममा भने कार्यालयले ५१ दशमलव ८१ प्रतिशत प्रगति गरेको छ । प्रति एक लाख जनामा २२९ जना क्षयरोगी भेटिने गरेको सरकारी तथ्यांक छ । निःशुल्क रक्तसंचार अन्तर्गत ६ महिनामा ७१ जनाले यो सेवा पाउनुभएको छ । जिल्लामा एक विद्यालय एक नर्स कार्यक्रम ८२ वटा विद्यालयमा संचालनमा रहेको तर हाल ५७ वटा विद्यालयमा मात्र कार्यान्वयन भएको पनि कार्यालय प्रमुख कक्षपतिले जानकारी दिनुभयो ।
रेविज रोगको नियन्त्रणका लागि भ्याक्सिन व्यवस्थापन र नसर्ने रोगको औषधि व्यवस्थापनमा पनि कार्यालयले प्रभावकारीरुपमा काम गरिरहेको छ । यसैगरि ६ महिनाको अवधिमा बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा ७९ जनाको मृत्यु, ८८ जना घाइते र ६ जना बेपत्ता भएका र यस्तो प्रकोपमा २६ हजार २१० जना प्रभावित भएको पनि कार्यक्रममा जानकारी दिइयो । यस्तै यस अवधिमा ८८ वटा खानेपानीका नमुना परीक्षण गरिएको मध्ये २० वटा खान अयोग्य पाइएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उपस्थित सबैलाई कार्यालय प्रमुख रागीश्री कक्षपतिले स्वागत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले कार्यालयले सिमित जनशक्तिकाबीच पनि प्रभावकारी काम गरेको पाइएको भन्दै आगामी दिनमा कार्यालयले फिल्ड भिजिटमा पनि पत्रकारहरुलाई सँगै लिएर लैजान अनुरोध गर्नुभयो । यसो गर्न सके थप जानकारी लिन र सूचना प्रवाह गर्न सजिलो हुने उहाँले बताउनुभयो । जनस्वास्थ्यका लागि सूचना प्रवाहमा जिल्लाका सबै संचारकर्मी उतिकै सक्रिय रहेको र आगामी दिनमा पनि कार्यालयसँगै हातेमालो गर्न आफूहरु सधैं तयार रहेको उहाँको प्रतिबद्धता थियो ।
कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले कार्यालयले गरिरहेका काममा गर्नुपर्ने सुधारका बारेमा सुझाव दिँदै आआफ्ना जिज्ञासा राखेका थिए । ती जिज्ञासाउपर कार्यालय प्रमुख कक्षपतिले सरकारले पठाउने बजेट धेरै शीर्षकमा कटौती गरेकाले सोचेजसरी काम गर्न नसकिएको बताउनुभयो । उहाँले आगामी दिनमा कसरी राम्रो काम गर्न सकिन्छ भन्नेमा आफूहरु सधैं चिन्तित रहेको भन्दै सल्लाह र सुझावका लागि धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा जिल्लामा विभिन्न संचारमाध्यममा कार्यरत करिब ५० जना पत्रकारहरुको उपस्थिती रहेको थियो ।
मुख स्वास्थ्य दिवस मनाइयो
यसैबीच मुख स्वास्थ्य दिवस ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ काभ्रेमा पनि मनाइएको छ । मुख स्वास्थ्य दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय काभ्रेले अन्तक्र्रिया कार्यक्रम गरेको हो । दाँत तथा मुख स्वास्थ्यको महत्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सञ्चारकर्मी र सरोकारवालासँग गरेको अन्तक्र्रियामा दन्त चिकित्सक डा दिपा आचार्यले मुख स्वस्थ नहुँदा हुन सक्ने जोखिमबारे जानकारी गराउनु भएको थियो । उहाँका अनुसार, मुख स्वस्थ नुहँदा धमनी बन्द भई हृदयघात र स्ट्रोकको जोखिम पनि हुन सक्छ । मुखमा भएका केही कीटाणुहरू फोक्सोमा जाँदा यसले निमोनिया निम्त्याउन सक्ने, अवधि नपुगी बच्चा जन्मिने र कम तौलको बच्चा जन्माउनेसँग जोडिएको हुने उहाँले जानकारी दिनुभयो । अनुसन्धानले गिजाको रोग भएका मानिसहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुने देखाएको छ । नियमित दाँतको हेरचाहले मधुमेह नियन्त्रणमा सुधार गर्न सकिने कार्यक्रममा जानकारी दिइयो ।
तथ्याङ्क अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको, गिजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ । नेपालमा दाँत किराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिने कार्यक्रममा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *