काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उनी रजिस्ट्रार थिए । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्र बैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका छन् ।
फागुन ३ गते भएको अन्तर्वार्तापछि सिफारिस समितिले नाम दिन सकेको थिएन । संयोजक सुरेशराज शर्माले गत शुक्रबार कुलपति ओलीलाई आफ्नातर्फको नाम बुझाएका थिए । सोमबार छनोट समितिका अन्य दुई सदस्य डा अर्जुन कार्की र जनार्दन नेपालले छुट्टै नाम बुझाएका थिए । छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा कुलपति ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् ।
यता प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *