बनेपा । छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढीपहिरो पीडितले अझै सरकारी राहत तथा अनुदान पाउन सकेका छैनन् ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस–बास–कपास गुमाएका’ लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।
राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’ मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । गत असोज १०–१३ मा परेको अविरल वर्षाले पुर्याएको क्षतिको विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् ।
पोर्टलमा विपद्सम्बन्धी विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समयसीमाभित्र पाँचवटा स्थानीय तहले अझै विवरण उपलब्ध गराएका छैनन् । १३ मध्ये पाँच स्थानीय तहले विवरण बुझाउन बाँकी छ । क्षति भएका घरहरूको विवरण सङ्कलन गरी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा सरकारले पीडितहरूलाई २५ हजार राहत दिनेछ । विपद्को ६ महिनासम्म बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले विवरण सङ्कलन गरी पोर्टलमा दर्ता गरेका छैनन् भने दर्ता भएका विवरणहरू पनि स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट जिल्लास्थित समितिमा बुझाएका छैनन् ।
जिल्ला प्रशासन कार्यालयले पोर्टलमा दर्ता भएका र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका नमोबुद्धका ८२४ घर, बेथानचोक गाउँपालिकाका २३९ घर र महाभारत गाउँपालिकाका १७ घर परिवारका लागि २५ हजारका दरले अस्थायी आवासका लागि राहत उपलब्ध गराउन गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समितिलाई निकासा माग गरेको छ । निकासा माग गरेको तीन हप्तासम्म पनि मन्त्रालयले अस्थायी आवासका लागि रकम निकासा नगरेको कार्यालयले जनाएको छ ।
धुलिखेल नगरले ८६, रोशीले ५४८, चौरीदेउरालीले २८०, खानीखोलाले ५३ र पाँचखालले १२५ घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न सिफारिस गरेको भए पनि स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नगरेकाले मन्त्रालयमा रकम माग गर्न नमिलेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटकपटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताए ।
गत असोजको वर्षाले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो भने छ जना अझै बेपत्ताको अवस्थामा छन् । कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *