ज्ञानमणि नेपाल कालोटोपी

उखानै छ नि, ‘जब धन बोल्न थाल्छ तब कानुन मौन बस्छ ।’ यसको मतलब दुनियाँमा जतिपनि नियम कानुन बनेका छन् ती सबै सोझासिधा नागरिकका लागि बनेका छन् भन्दा फरक पर्दैन । हामीले गाउँठाउँ समाजमा देखिरहेका छौं, पहुँच पुग्ने र धनको घमण्ड हुने मानिसलाई सबैले पुजिरहेका हुन्छन् । चाहे उसले समाजमा उदण्ड मचाइरहेको नै किन नहोस् । भन्न चाहिँ मान्छेहरु भनिरहेका हुन्छन्, कानुन सबैका लागि बराबर हो भनेर । यसको मतलब कानुन नमान्नु भन्ने आशय चाहिँ पक्कै पनि होइन ।
मानिस प्रकृतिको दास हो । अर्थात जे हुन्छ संसारमा त्यो मानिसको नियन्त्रणमा हुँदैन । भूकम्प, बाढीपहिरो, आँधीहुरी र मृत्यु । यी कुराहरुलाई रोक्न सकिन्थ्यो भने मानिस झन कति घमण्ड गथ्र्यो होला । भोलि कतिबेला मर्नु छ, त्यो त थाहा छैन तर पनि मानिस कहिल्यै नमर्नेझैं गरिरहेको छ । हामीले कहिल्यै भुल्न नहुने कुरा के हो भने एउटै सामान घरी ओल्लो भाँडोमा, घरी पल्लो भाँडोमा, घरी बाल्टीमा, घरी कचौरामा हाल्दै÷जाँदै गर्दा सामान त बिग्रन्छ नै, सङ्गसङ्गै भाँडो पनि बिग्रन्छ । त्यसैले हरेक कुराको सीमा हुन्छ । सीमाभन्दा बाहिर गएर कुनै काम गर्नु हुँदैन ।

मानिसलाई हरेक क्षण, हरेक कुरा र व्यवहारले सिकाइरहेको हुन्छ । उसलाई सुखले पनि सिकाउँछ, दुःखले पनि सिकाउँछ । फरक यो छ कि सुखमा हिँडेको चार कदमले भन्दा दुःखमा हिँडेको एक कदमले हजारौं कुरा सिकाउँछ । तर कति सिक्ने त्यो मानिस स्वयंमा भर पर्छ । हामीले काम गर्दै जानुपर्छ । यदि कसैले हाम्रो आँशुको मूल्य नबुझे पनि चिन्ता गर्नु हुँदैन, किनकी संसार यस्तै छ, यहाँ सहानुभूति दिनेभन्दा पीडामा रमाउनेहरुको जमात ठूलो देखिन्छ । मुठी कसेर बस्नेहरुको अँगालोमा अटाउन कोहीँ आउँदैन, अँगालो तिनै मानिसको भरिन्छ, जसले जीवनमा मुठी खोलेर हत्केला फिँजाउन जानेको हुन्छ । छाती चौंडा पनि तिनै मानिसको हुन्छ, जो ठाउँ र समयअनुसार खुम्चिन पनि जान्दछ । शिर ठाडो पारेर त्यही मानिस हिँड्न सक्छ, जसले आवश्यक ठाउँमा शिर झुकाउन पनि जानेको हुन्छ ।

मानिसको जीवनमा कहिलेकाहिँ अँध्यारो समयले घेर्न सक्छ, तर त्यतिबेला हामीले धैर्यको दीयो निभ्न भने दिनु हुँदैन । त्यतिबेलाको पीडाले मन भत्काउन सक्छ, अथवा भोलि आउने आँशुले पनि बाटो बिराउन सक्छ, तर पर्सी आउने बिहानीले हरकोही व्यक्तिको भाग्यको ढोका खोल्न सक्छ । त्यसैले आत्तिनु हुँदैन, सफल भएँ भन्नेहरुले पनि एक दिन संसार छोडेरै जाने हो । आफ्नो भन्ने दुनियाँमा कोही छैन, किनकी छात्तीभित्र रहेको मुटुले पनि एक दिन साथ छोडेर जान्छ । यसो भनेर हामीले निराश हुनु भने हुँदैन, किनकी संसारको नियम नै यस्तै छ । जसमा सबै बाँधिनु पर्छ ।

मानिसको जीवनमा हरेक चीज दुईपटक मूल्यवान हुन्छ, एकपटक पाउनुभन्दा पहिले र अर्कोपटक गुमाइसकेपछि । महानता भाग्यले दिने उपहार होइन, यो निरन्तर परिश्रम र सही बानीले बनाउने एक अमूल्य सम्पत्ती हो । मानिसको बानीले नै उसको भविष्यको मार्ग निर्माण गर्छ । हिँड्ने बाटो र पुग्ने गन्तव्य सही हुनुपर्छ, कसैले कुरा काट्दैमा केही फरक पर्दैन, यति हो कि गर्धन काटिने काम गर्नु हुँदैन । यति भए पुग्छ जीवनमा ।

त्यो मान्छे गलत भइरहेको हुन्छ, जो अरुको आँशु पुछ्न, आफू दिनरात आँशुमै डुबिरहेको हुन्छ । त्यही मानिस नराम्रो हुन्छ, जो अरुको खुशीको लागि आफूलाई नै रित्याइरहेको हुन्छ । अरुको मन राख्दाराख्दा, अरु रिसाउलान् कि भन्ने चिन्ता गर्दागर्दा, आफ्नो त कतै ठाउँ नै पो नरहने रैछ, अरुलाई समस्याका जँघार तराउँदातराउँदै आफू भने भेल बाढीमै हराइरहेको हुन्छ मान्छे । अरुको चित्त बुझाउँदाबुझाउँदै आफू रित्तो हुने रैछ, आफ्नो लागि कहिल्यै समय दिन नसकिने रैछ । त्यसैले आफ्नो लागि हामीले बेलैमा सोचौं । अरुको लागि सोच्नु समयको बर्बादी मात्र हो । तर यो चाहिँ हामीले कहिल्यै भुल्नु हुँदैन कि घमण्ड कति पनि नपालौं । घमण्डले मानिसका आँखामा यस्तो पर्दा हालिदिन्छ, जसले न अरुको उज्यालो देख्न दिन्छ, न आफ्नो अँध्यारो बुझ्न नै दिन्छ । पैसाको घमण्ड पाल्नेहरुले यो पनि याद गर्नुपर्छ कि पैसाले मान्छेको मूल्य तोक्न सकिएला, तर असल आचरण र व्यवहारले मात्र उसको सहि पहिचान निर्धारण गर्नसक्छ । साँचो सम्बन्ध एउटा सुन्दर पुस्तक जस्तै हुन्छ, पुस्तक जति नै पुरानो भएर जाओस्, तर शब्दहरु कहिल्यै बदलिँदैनन् । यो नै असल मित्रको दरिलो सम्बन्ध हो । स्वार्थले बनेको सम्बन्ध कपास जस्तै हुन्छ, शुरुशुरुमा त नरम जस्तै लाग्छ तर कालान्तरमा त्यो धुजाधुजा भएर सकिन्छ ।

मानिसको सुन्दरता सस्तो हुन सक्छ तर चरित्र निकै नै महंगो हुन्छ, घडी सस्तो होला तर त्यसले दिने समयको मोल हुँदैन, धनले सुख ल्याउन त सक्ला साँचो शान्ति कहिल्यै ल्याउन सक्दैन । जीवनमा दुःख आयो भनेर जो कोहीलाई आफ्नो आँशु पुछ्न लगाउनु हुँदैन, किनकी तपाईंलाई सहयोग गर्ने बाहानामा मानिसहरुले त्यही आँशुकै व्यापार गर्न थाल्छन् । यस्तो जमात समाजमा हिजोआज धेरै भेटिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *