पनौती । साहसी र जुझारू, मेची महाकाली दौड पूरा गरेका र दुईवटा हिमाल (मेरापिक र इम्जात्से) आरोहणमा सफलता प्राप्त गरेका व्यक्तित्व लक्ष्मण सापकोटा जो भेट हुँदा सगरमाथा आरोहण गरि त्यहाँ कविता वाचन गरेर विश्व रेकर्ड राख्छु भनी पटकपटक मसँगको कुराकानीमा व्यक्त गर्दथे त्यस्ता व्यक्तिको अकल्पनीय स्वर्गारोहणले स्तब्ध बनाएको छ ।
युवावस्थामा दालमोठमा मिसाएर खाएको सेल्फस (विष) समेत पचाएको मान्छे, नाङ्गा खुकुरीसँग नाङ्गै हातले लडेको मान्छे, ५० डिग्रीको गर्मीमा कठीन कमाण्डो तालिम प्राप्त अरठ्टो मान्छे, साँढे ६ हजार मिटरभन्दा अगला इम्जात्से, मेरा पिक र चुलु इष्टका चुचुरा चुमेर सगरमाथातिर पाइला अघि बढाइरहेको मान्छे, मेचीदेखि महाकाली साहसिक दौड पूरा गरेको मान्छे हुनुहुन्थ्यो भनी प्रकाश सापकोटाले आफ्नो फेसबुक वालमा दुखेसो व्यक्त गर्नुभएको छ ।
मृत्युको नजिक नजिक हिँड्दा मृत्यु नै डराएर तपाईंसँग भागी भागी हिँड्छ जस्तो लाग्थ्यो । तपाईंलाई कसरी जित्यो मृत्युले ? मैले भेउ पाउन सकेको छैन । अन्तिमपल्ट फेसबुकमा आफ्नो ब्ल्याक एण्ड ह्वाइट फोटो स्केच पोष्ट गरेर थुप्रै रङ्गिन इच्छाहरू अधुरा छोडी दुनियाँलाई चकित पारेर कसरी फुत्तै जानुभो भन्दै धेरै तपाईंले लगाएका धेरै गुण कि तपाईंलाई थाह छ, कि मलाई थाह छ, अलिअलि देख्नेहरूलाई थाह छ । लेखे पनि मान्छे नरहेपछि गुणगान गाए जस्तो, नलेखे गुनै नसम्झे जस्तो … बडो गाह्रो बनाएर जानुभो अङ्कल ! स्तब्ध छु, भावविह्वल छु । जेमा पनि फड्को मार्न अघि सर्ने तपाईं समयलाई पनि फड्को मारेर जानुभो ! हृदयमा भने जीवनभर रहनुहुनेछ भनी साहित्यकार रामसुन्दर देउजाले पोष्ट गर्नुभएको छ ।
चाहे जस्तो भएपनि लक्ष्मण सापकोटा हृदयघातका कारण ५५ वर्षको उमेरमा वैशाख ८ गते धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्युवरण गर्नुभएको थियो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दैछौं ।
