काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आरम्भ उद्घोष गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कनस्थल हुने बताइएको छ ।
देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधा सम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए । फिल्म स्टुडियो इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथा प्रोटेबल सेटहरू निर्माण हुनेछन् ।
आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुनेछ । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको छ । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाई काम शुरु गरिने बताइएको छ ।
चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुने बताउनुभएको छ ।
मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानबिन हुने बताउनु भयो ।
उक्त जग्गाबारे छानबिन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिँदै उहाँले कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया पुर्याएर सरकारको नियन्त्रणमा ल्याउने प्रतिबद्धता जनाउनु भयो । प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *