धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह (दोश्रो चरण) शुकबार भएको छ । जसमा १ हजार १२९ विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिका, युवायुवतीलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताउनु भयो ।
गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिती देखापरेको भन्दै यस वर्ष नै सुधार आउने उहाँले बताउनु भयो । सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तीर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गर्नुभयो । थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने स्थिती पुर्याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताउनु भयो ।
अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा अच्युत वाग्लेले स्वागत मन्तव्य दिनुभएको थियो भने रजिष्ट्रार प्रा डा राजीव श्रेष्ठले समारोह सञ्चालन गर्नुभएको थियो ।
समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आट्सका १६३ जना, स्कूल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कूल अफ मेनेजमेन्टका ११० जना विद्यार्थी दीक्षित भए । यस्तै स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका थिए ।
समारोहमा विश्वविद्यालयका आर्टस, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना रहेका थिए ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५०.९३ (५ सय ७५ जना) र महिलाको प्रतिशत ४९.०७ (५ सय ५४ जना) रहेका थिए । दीक्षित भएकामध्ये विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलंका र माल्दिभ्स गरी ४ देशका ११८ जना अर्थात १०.४५ प्रतिशत रहेका थिए ।
३० औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ५० जना (११.८३ प्रतिशत) विदेशी विद्यार्थी रहेका छन् ।
