धुलिखेल । गत असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणको प्रक्रिया सुरु भएको छ ।
बाढीले पूर्णरुपमा क्षति पुर्याएको बिपी राजमार्गको २९ किलोमिटर सडक खण्डलाई चार प्याकेजमा पुनर्निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा काम हुने भएको सडक डिभिजन भक्तपुरले जनाएको हो । सरकारले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणको काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ पुनर्निर्माण हुने सडकमध्ये डालाबेशीदेखि चारसयबेशीसम्मको साढे आठ किलोमिटर सडक पुनर्निर्माणका लागि निर्माण व्यवसायी कम्पनी छनोट भई सम्झौताको चरणमा रहेको बताउनुभयो । उहाँले उक्त सडक खण्डको साढे आठ किलोमिटर सडक पुनर्निर्माणका लागि निर्माण व्यवसायीले भ्याटसहित एक अर्ब ४२ करोड रुपियाँ कबोल गरेको बताउनुभयो ।
योगेशले विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकतर्फको चारसयबेशीदेखि भकुण्डेबेशीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि प्राविधिक मूल्याङ्कनको काम भइरहेको बताउनुभयो । डिभिजन सडक भक्तपुरले बाढीले क्षतिग्रस्त बनाएको काभ्रेपलाञ्चोकतर्फको वर्षेखोलादेखि डालाबेशी साढे पाँच किलोमिटर सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारले गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *