खानीखोला । खानीखोला गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पालिकास्तरीय अन्तरमावि ‘बालविवाह, यसको असर र न्यूनीकरणका उपायहरू’ शीर्षकमा चेतनामूलक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ रहनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थिङले बालविवाह समाजमा गम्भीर समस्या भएको र यसको अन्त्यका लागि युवाहरूकै सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता चेतनामूलक कार्यक्रमहरू पालिकामा निरन्तर आयोजना गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको सभाध्यक्षको जिम्मेवारी वडा नं ४ का अध्यक्ष तथा सामाजिक विकास संयोजक निशान मोक्तानले सम्हाल्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिमा उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, निर्णायक मण्डलका प्रतिनिधि प्रकाश कोइराला, शिक्षा शाखा प्रमुख चक्रबहादुर थापा, महिला तथा बालबालिका शाखा प्रमुख तथा वडा नं ५ की सचिव चण्डिका थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय विद्यालयका शिक्षकहरूको उपस्थिती थियो ।
गाउँपालिकाका आठवटा माध्यमिक विद्यालयहरूमध्ये सात विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । विद्यार्थीहरूले बालविवाहका नकारात्मक प्रभाव र न्यूनीकरणका उपायहरूबारे ओजपूर्ण प्रस्तुति दिएका थिए । प्रतियोगितामा जनविकास माविकी नेहा खुलालले प्रथम स्थान हासिल गर्दै नगद १० हजार र सम्मानपत्र प्राप्त गरिन् । शारदा माविकी सुनिता थोकरले द्वितीय स्थानमा रहँदै ७ हजार ५०० नगद र प्रमाणपत्र प्राप्त गरिन् भने तृतीय स्थान जनविकास माविकै युवराज ठकुरीले जित्दै ४ हजारसहित सम्मानपत्र प्राप्त गरे ।
त्यस्तै, कुमारी माविका सुमन सिंतान र भृकुटी माविकी रजनी टुम्सिङ्ग मगरले सान्त्वना पुरस्कारस्वरूप २ हजार नगद र सम्मानपत्र प्राप्त गरे । कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख चक्रबहादुर थापाले गर्नुभएको थियो । यस कार्यक्रमले बालविवाह जस्तो गम्भीर सामाजिक विषयमा विद्यार्थीहरूमा चेतना फैलाउनुका साथै युवापुस्तालाई सकारात्मकरूपमा सशक्त बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *