खानीखोला । काभ्रेको खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडाबीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा केही दिनअघि स्काभेटर पल्टियो । स्काभेटर त पल्टिने खालको सडक छ भने अरु सवारीसाधनको हालत के होला ।
त्यसपछि सडक पूर्ण रूपमा अवरुद्ध भयो । सडक निर्माणको क्रममा अघिल्लो शनिबार दिउँसो अचानक सडक भासिएर स्काभेटर पल्टिएको थियो । यद्यपि घटनामा कुनै मानवीय क्षति भने नभएको गाउँपालिकाले जनाएको छ ।
स्थानीयबासीका अनुसार, भासिएको भाग सडकको अत्यन्तै संवेदनशील भूभागमा पर्दछ, जहाँ वर्षाको कारण जमिन कमजोर बनेको थियो । स्काभेटर पल्टिएपछि सो सडकखण्ड अवरुद्ध बनेको छ भने खानीखोलामा आवतजावत गर्ने एक मात्र प्रमुख सडक अस्थायीरूपमा बन्द भयो । हाल नागरिकले वैकल्पिकरुपमा असुरक्षित बाटो प्रयोग गरी जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन् ।
घटनापछि खानीखोला गाउँपालिकामा रहेको जेसिबीमार्फत स्काभेटर तान्ने प्रयास गरिएको थियो तर सफल हुन सकेन । यसपछि निर्माण व्यवसायी चर्चित लामाले ठूला मेसिनको आवश्यकताका कारण काम रोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार, यहाँका नागरिक सडक निर्माणलाई गति दिनका लागि ठूला डोजरको पर्खाइमा छन् ।
घटनाको जानकारी पाएलगत्तै खानीखोला गाउँ प्रहरी इन्चार्ज रमेश तिमल्सिना पालिकाको निर्देशनमा घटनास्थल पुगेका थिए । उनले घटनास्थलको अवलोकन गर्दै स्थानीयलाई सडक प्रयोग नगर्न र सतर्क रहन अनुरोध गरे । लगातारको वर्षाले उक्त क्षेत्रको भौगोलिक संरचना थप जोखिमपूर्ण बनेको छ । पहिरो र जमिन भासिने घटनाले खोपासी–तालढुंगा सडकको काममा लगातार अवरोध पुगिरहेको छ । भूगर्भिक असहजता र कमजोर नाली व्यवस्थापनले समस्या झनै जटिल बनेको निर्माणपक्ष बताउँछ ।
दुई दशकदेखि अलपत्र
खोपासी–तालढुंगा सडक परियोजना विगत दुई दशकदेखि अलपत्र छ । पटकपटक संघीय सरकार र प्रदेश सरकारसँग बजेट माग गर्दा पनि आवश्यक मात्रामा बजेट विनियोजन भएको छैन । सडक पूर्ण निर्माण नहुनुमा बजेट अभाव नै मुख्य कारण रहेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।
संघीय सांसद सूर्यमान दोङको पहलमा पटक–पटक संघीय सरकारसँग सो सडक निर्माणको माग राखिएको थियो । तर, संघीय सरकारबाट अपेक्षित बजेट नपाउँदा सडकको काम थलिएको हो । सांसद दोङले लामो समयदेखि खोपासी–तालढुंगा सडकलाई प्राथमिकतामा राखी पहल गरे पनि सरकारबाट ठोस नीतिगत सहयोग प्राप्त नभएको जनाइएको छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ का अनुसार गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग बजेट माग गर्दै आएको भए तापनि, अहिलेसम्म पूर्ण आवश्यक बजेट प्राप्त हुन सकेको छैन । “गाउँपालिकामा कुनै पनि आन्तरिक आयस्रोत छैन, आन्तरिक स्रोत शून्य जस्तै छ,” अध्यक्ष थिङले भन्नुभयो, “सानोतिनो बजेटले यस्तो महत्वपूर्ण सडक निर्माण सम्भव छैन ।” अध्यक्ष थिङका अनुसार पालिकाले विनियोजन गर्ने सानो बजेट पनि सामान्य काम, मर्मत, डोजर सञ्चालन, भासिएको भाग व्यवस्थापन जस्ता आकस्मिक काममै खर्च भइहाल्छ । त्यसैले यस्तो उच्च लागत र दीर्घकालीन सडक निर्माणका लागि संघीय तथा प्रदेश सरकारकै प्राथमिकता आवश्यक रहेको उहाँले बताउनुभयो ।
खोपासी–तालढुंगा सडकखण्ड खानीखोला क्षेत्रलाई पनौतीसँग जोड्ने मुख्य आवागमन मार्ग हो । सडकको अपूर्ण निर्माण, अस्थायी मर्मत, पहिरोको जोखिम र वर्षायाममा सडक भासिने समस्याले गर्दा स्थानीयहरू लामो समयदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । पछिल्लो पटक सडक भासिएर स्काभेटर पल्टिएपछि उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
हालको अवस्थामा सडक निर्माण कार्यलाई अघि बढाउन संघीय तथा प्रदेश सरकारको सक्रिय हस्तक्षेप आवश्यक देखिन्छ । बजेटको दीर्घकालीन योजना, ठेक्का प्रक्रिया पारदर्शी बनाउने, भूगर्भिक अध्ययनसहित आधुनिक प्रविधि प्रयोग गरी सडक निर्माणलाई दीगो बनाउनुपर्ने स्थानीय नेताहरूको सुझाव छ ।
स्थानीयको माग
संघीय र प्रदेश सरकारबाट आवश्यक बजेट तुरुन्त विनियोजन गरियोस भन्ने माग स्थानीयले गरेका छन् । यस्तै सडक निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकताको रूपमा राख्न पनि उनीहरुले माग गरेका छन् । सडक अपूर्ण हुँदा स्थानीय जनताको जनजीवनमा पारेको असरको मूल्यांकन गरि थप कामका लागि प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ । स्थानीय नागरिक भन्छन्, “हामी जोखिम मोलेर हिँड्न बाध्य छौं, बाटोको अवस्था हेर्दा गाडी गुड्न त परै जाओस्, मानिस हिँड्नसमेत डर लाग्छ ।”
खानीखोला क्षेत्रको यातायात व्यवस्था ठप्प पार्ने गरी स्काभेटर पल्टिएको घटना एउटा प्रतिनिधि घटना मात्र हो । यहाँ सधैं यस्तै समस्या छ । यहाँ वर्षायामको उच्च जोखिमलाई ध्यानमा राखी भूगर्भ विज्ञ, इञ्जिनियर र प्रशासनबीचको समन्वयमा दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ । स्थानीयवासीको जनजीवन सहज बनाउन यथाशिघ्र मर्मत कार्य सुचारु गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता रहेको नागरिक बताउँछन् ।
