ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्यको तुलनामा ९१.७६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्षमा २ हजार ३२० मुद्दा फछ्र्यौटको लक्ष्य राखिएकोमा अदालतबाट २ हजार १२९ अर्थात ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछ्र्यौट भएको सोमबार कार्यालयले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
गत आर्थिक वर्षमा १ हजार ३ सय ५८ पुरानो जिम्मेवारी सरेर आएका मुद्दा थिए भने २ हजार २३३ नयाँ मुद्दा दर्ता भएका थिए । नयाँ र पुरानो गरि जम्मा ३ हजार ५ सय ९१ मुद्दा रहेकोमा २ हजार एक सय २९ फछ्र्यौट भएको र १ हजार ४ सय ६२ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको कार्यालयका श्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए । समग्रमा मुद्दा फछ्र्यौटको अवस्था ५९ दशमलव २८ प्रतिशत रहेको छ ।
अदालतमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा रहेको उनले बताए । जसमा ६३७ वटा सम्बन्धविच्छेद, चेक अनादरका २४५, अंश चलनका ३३१ वटा, भरणपोषण ९८, जबर्जस्ती करणीका ४४ वटा र अन्य ८७८ वटा रहेका छन् ।
अदालतले मुद्दाको प्रकृति हेरेर तीन वर्गमा मुद्दाको बाँडफाँट गर्दै सुनुवाइ गर्ने गरेको छ । जसमा सरल मार्ग, सामान्य मार्ग र विशेष मार्ग रहेका छन् । ६ महिनाभित्र सुनुवाइ गर्नुपर्ने सरल मार्गका मुद्दा हुन् भने १ वर्षभित्र र १८ महिनाभित्र सक्नु पर्ने मुद्दा सामान्य र विशेष अन्तर्गत पर्दछन् ।

अदालतमा सबैभन्दा बढी मुद्दा फछ्र्यौट न्यायाधिश प्रेमप्रसाद न्यौपानेले ८ सय २९ वटा गरेका छन् । यस्तै न्यायाधिश शिवकुमार पोखरेलले ६ सय ५९ वटा, न्यायाधिश मातृकाप्रसाद आचार्यले ५ सय ९८, न्यायाधिश राजेन्द्र नेपालले ५ र न्यायाधिश विश्वनाथ भट्टराईले ३८ मुद्दा फछ्र्यौट गरेका छन् ।
मुद्दा फछ्र्यौटको अवधिगत वर्गिकरण अन्तर्गत ६ महिनाभित्रका ५३२ वटा, ६ देखि १२ महिनाभित्रका ४६२ वटा, १२ देखि १८ महिनाभित्रका ६३० वटा, १८ महिनादेखि २ वर्षसम्मका २२९, २ वर्ष नाघेका २४५ वटा र रिट ३१ वटा गरि जम्मा २ हजार १२९ वटा मुद्दा फछ्र्यौट भएको थियो ।
मेलमिलापमा पठाउने मुद्दाको लक्ष्य १ हजार ५६१ रहेकोमा जम्मा २९६ वटा मात्र पठाइएको थियो । जुन लक्ष्यको २६ दशमलव २५ प्रतिशत रहेको छ । मेलमिलाप भएको ७८, मेलमिलाप हुन नसकेको १८५ र मेलमिलाप प्रक्रियामा बाँकी रहेको ३३ वटा मुद्दा रहेका छन् ।
विगत तीन आर्थिक वर्षमध्ये यस अदालतले आर्थिक वर्ष ०७९÷०८० मा ६५ दशमलव ३३ प्रतिशत, ०८०÷०८१ मा ५८ दशमलव ७९ र गत आर्थिक वर्ष ०८१÷०८२ मा ५९ दशमलव २८ प्रतिशत मुद्दा छिनिएका छन् । विगत ६ वर्षयता जिल्ला अदालतमा नयाँ मुद्दा दर्ताको संख्या १० हजार ३४४ वटा र जिम्मेवारी सरेर आएका ७ हजार २२१ रहेकोमा फछ्र्यौटको जम्मा संख्या ९ हजार ५६९ रहेको छ ।
यसरी लक्ष्य अनुसार मुद्दा फछ्र्यौट हुन नसक्नुका कारणमा अदालतले मुद्दाको मार्ग अनुसारको फाँट निर्धारण र स्वचालित पेशी व्यवस्थापन गर्दा अलमल हुनुलाई मुख्य मानेको छ । यस्तै भाद्र महिनामा न्यायाधिशहरुको सरुवा, तालिम तथा न्यायाधिशहरु बिदामा बस्नु परेका कारण पनि लक्ष्य अनुसार काम हुन नसेकेको हो । वादी प्रतिवादीले तारेख गुजार्ने र पेशी स्थगित गर्नुपर्ने कारणले पनि मुद्दा फछ्र्यौटमा कमी भएको देखिएको छ । विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएका नमुनाहरुको परिक्षण प्रतिवेदन समयमा नआउने र सरकारवादी मुद्दामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपूर्जी तथा म्याद तामेली, वतन खुलाउने कार्यमा विलम्व हुने गरेकाले पनि मुद्दा फछ्र्यौटको लक्ष्य पूरा हुन नसकेको जिल्ला अदालत काभ्रेका प्रमुख न्यायाधिश मातृकाप्रसाद आचार्यले जानकारी दिए ।
