सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएका पाँच दिनको समय हो यमपञ्चक । पौराणिक कथासार अनुसार यमुनाको व्यवहारले प्रशन्न भई राजा यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजु बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदा बृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि बहिनीको मागलाई तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति होस भन्ने वरदान दिए । यसरी प्राचीन कालदेखि अहिलेसम्म दाजु र बहिनीबीचको पवित्र सम्बन्ध र सद्भाव स्वरुप अविच्छिन्नरूपले तिहार पर्व मानिँदै आएको छ ।
यति मात्र होइन तिहारले मानव र पशुपंछी तथा प्रकृतीबीचको सम्बन्धलाई पनि उतिकै प्रगाढ बनाइ दिएको छ । धार्मिक तथा पौराणिकरुपमा यसरी शुरु भएको तिहारको तेस्रो दिन अर्थात गाईपूजा र लक्ष्मीपूजाको दिन भैलो खेल्ने तथा, गोवर्धन वा गोरु तिहारबाट देउसी खेल्ने प्रचलन छ । यसले तिहारको सांस्कृतिक सुन्दरतामाथि झनै बलियो सांगीतिक माधुर्य थपिदिएको छ । मखमली, सयपत्री, गोदावरी फूलहरूसँगै दीयो र वत्तीले झकिझकाउ यो वर्षमा देउसी र भैलोको पनि पृथक महत्व छ ।
देउसीभैलोका बिषयमा खास प्रमाण नभेटिएपनि तिहारका समयमा बलिराजाले सुरु गरेको एक परम्पराका रुपमा मान्ने गरिन्छ । यस अर्थमा तिहार भन्ने बित्तिकै देउसीभैलो अनि तिहारसँग जोडिएर बज्ने गीतहरूले पनि यसको झल्को दिने गर्छन् । त्यस्ता गीतहरू नेपाली समाजमा थुप्रै छन् र नयाँ नयाँ बन्ने क्रम पनि जारी छ । तर, यस्ता केही तिहार गीतहरू छन् जसले आम नेपालीको मस्तिष्कमा आफ्नै स्थान र पहिचान बनाउन सफल छन् । कुन कुन हुन् त, ती गीतहरू ?
०००
‘तिहारै आयो, लौ झिलिमिली,
सुन हजुर भैलिनी आइन् आँगन…’
चलचित्र ‘स्वर्ग’मा समावेश यो गीतले आम नेपालीमाझ तिहार आएको अनुभूत गराउँछ । त्यतिमात्र होइन, यस गीतले तिहारको बयान गर्छ, गाथा गाउँछ, हिन्दू धर्मावलम्बीको परम्परा र प्रचलन, संस्कार र संस्कृतिलाई उजार गर्दछ । शम्भु प्रधानको निर्देशनमा तयार चलचित्रमा समावेश उक्त गीतले तिहार नजिकिँएसँगै रेडियो, टिभी अनि विभिन्न सञ्चार माध्यममा उत्कृष्ट स्थान पाउँछ । अभिनेता नीर शाह, गौरी मल्ल, पवन मैनाली, भिमबरसिंह थापालगायतको अभिनय रहेको यो गीत तिहारका लागि सदाबहार छ । गीतलाई यादव खरेलले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतमा स्वर लोचन भट्टराई र नूतन प्रधानले दिएका छन् । यो गीत तिहार पर्वमा सबैभन्दा धेरै बज्ने गीत मध्ये एक पनि हो ।
०००
तिहारको अर्को सदाबहार गीत हो ‘दीयो बाली साँझको…’ चलचित्र ‘चिनो’ मा समेटिएको यो गीत तिहारमा निकै गुञ्जने गर्दछ । अधिकांशका लागि यो गीत कर्णप्रिय छ ।
‘दीयो बाली साँझको
फूल सजाई पूजाको…’
भारतीय गायिका आशा भोस्लेको स्वरमा सजिएको यो गीत तिहारका गीतहरू मध्येमा निकै रुचाइएको देउसी गीतमा पर्दछ । २०४८ सालमा निर्माण भएको चिनोे चलचित्र प्रदर्शन भएयता हरेक तिहारमा यो गीतले स्थान पाउने गरेको छ । चलचित्र निर्देशक तुलसी घिमिरेको शब्द तथा रञ्जित गजमेरको संगीत रहेको यो गीतको पछिल्लो समय रिमेकसमेत गरिएको छ । रिमेक गीतमा भने, नेपाली गायिका जमुना शर्माको आवाज सुन्न सकिन्छ । रिमेक गीतमा शर्माकै श्रीमान प्रमोद तिमल्सिनाको संगीत सुन्न सकिन्छ ।
०००
‘निधारमा लर्काएर सप्तरंगी टीको ,
हिँडिरहू सधैं तिमी शिखरको बाटो…’
चलचित्र ‘विजय पराजय’मा समावेश यो गीत तिहारमा बज्ने निकै चर्चित गीत हो । भाइटीका विशेष तयार यो गीतले हरेक बर्ष भाइटीकाको उमंग भर्ने गर्दछ । गायिका हेमलताको आवाजमा सजिएको गीतमा दाजु र बहिनीबीचको निश्चल मायालाई दर्शाई दिएको छ । कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको यो गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ भने, भुवन केसी, कृष्ण मल्ल, शर्मिला मल्ल र रुपा राणाको अभिनय रहेको छ ।
०००
‘दाइ त मेरो लाहुर जाने…।’
तिहारसँग जोडिएका एउटा मार्मीक गीत हो ‘दाइ त मेरो लाहुर जाने…।’ दाजु बहिनीको मिठासपूर्ण सम्बन्धका बारेमा तयार गीत हरेक तिहारका लागि विशेष मान्ने गरिन्छ । युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतमा दैवज्ञराज न्यौपानेको शब्द रचना रहेको छ । युक्त गुरुङकै संगीतमा सजिएको यस गीतमा परदेशिएको लाहुरेको कथा समेटिएको छ । हाल आएर यस गीतको नयाँ भर्जन पनि सार्वजनिक भएको छ । नयाँ भर्जनमा दुर्गा गुरुङ र गणेश गुरुङको स्वर सुन्न सकिन्छ ।
०००
‘वर्षमा दिनैमा लै लै…’
‘हर्षका दिन यी लै लै…’
दशैं र तिहारलाई जोडर तयार यो गीत निकै लोकप्रिय पर्व गीत हो । सुगम पोखरेलको स्वरमा रहेको यो गीत दशैं सँगसँगै र तिहारका लागि पनि उत्तिकै प्रिय छ । रवी श्रेष्ठको लेखनमा रहेको योग गीतमा सुगम पोखरेल स्वयम्को संगीत सुन्न सकिन्छ । दशैंदेखि तिहार नसकिउन्जेल बज्ने यो गीतले शरदको आगमनसँगै हरेकका मनमा फेस्टिभ उत्साह सृजना गर्ने क्षमतासमेत राखिदिएको छ । त्यसैले पनि हुनुपर्छ सुगमको यो आवाज हरेक वर्ष आउने दशैं र तिहारमा विशेष मानिन्छ ।
०००
‘सप्तरंगी टीका’
२०७७ को तिहार विशेष गीत हो , ‘सप्तरंगी टीका’ । यो गीत नयाँ भएपनि दर्शकले यस गीतलाई निकै रुचाएका छन् ।
‘हे दैव रहर होइन परदेशी हुने,
बैनी÷दिदी यो तिहारमा मखमली नउने…’
निकै नै मार्मीक शब्द समावेश यस तिहार गीतले परदेशिएका दाजु बहिनीको कथा बोल्छ । यो गीत यतिबेला समाजिक सञ्जाल टिकटकमा पनि खुबै देख्न सकिन्छ । केही मात्रामा तामाङ सेलोको भावसमेत मिसाइएको यो तिहार गीतले आम परदेशिएका नेपाली युवाहरूको कथा बोल्छ ।
०००
‘झिलिमिली रातमा, साथीभाइ साथमा…’
अक्षता अधिकारी र नवाज अन्सारीको आवाजमा रहेको यो देउसीभैलो गीत तिहारमा खुबै गुञ्जने गर्दछ । लोक–पप फ्युजनमा तयार यो गीत केही वर्षयता हरेकका लागि देउसी भैलोका साहारा बनेको छ । देउसे भैलेनीहरू यही गीतमा गाउँछन्, रमाउँछन् । गीतमा ¥यापसँगै मिसाइएको छ, किबोर्डदेखि रेग्गे बिटको गिटार अनि बिटबक्स, सारंगी र मादलका ताल पनि । त्यसैले होला तिहारसँगै अक्षता र नवाजको यो आवाज हरेक नेपालीको ओठ–ओठमा गुञ्जिएको हुन्छ ।
०००
‘भाइटीका…’
गायिका मिलन नेवार र गायक तथा संगीतकार राजन तिमिल्सिनको आवाज रहेको नयाँ गीत ‘भाइटीका’ पनि तिहार विशेष गीत हो ।
‘भाइटीकामा भेट्न आउनु मेरो प्यारो भाइ,
अरु केही चाहिँदैन तिम्रो दिदीलाई…’
यस गीतमा दिदीले टाढा रहेको भाइलाई तिहारमा चाहिँ भेट्न आउन आग्रह गरेकी छिन् भने, तिहारका पूराना यादहरूलाई पनि उजार गरिएको छ । गीत नयाँ भएपनि समावेश शब्द, संगीतले गीत दर्शक श्रोताका लागि निकै प्रिय लाग्छ ।
०००
उल्लेखित गीतहरू मात्र होइन अन्य थुप्रै तिहार गीत नेपाली गीत–संगीत बजारमा सुन्न सकिन्छ । जसले तिहारको प्रतिनिधित्व गर्छन्, देउसी, भैली अनि तिहारको रौनकता बोकेर ल्याउँछन् । ती गीतहरूमा पनि कतिपयले मनोरञ्जनलाई उजागर गरिदिएका छन् त कतिपयले परदेशिएका सदस्यहरूको कारुणिकता झल्काई दिएका छन् ।
