धुलिखेल । काठमाडौं विश्वविद्यालयले नौ जना काभ्रेली साधकलाई सम्मान गरेकाे छ ।

विश्वविद्यालयकाे समन्वय तथा सञ्चार महाशाखाले विसं. २००७ साल अघि काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर हालसम्म साधनारत रहेका नौ जना साधकहरूलाई सम्मान गरेको हाे ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा मूर्तिकार ठाकुरप्रसाद मैनाली, गीतकार किरण खरेल, चलचित्रकर्मी यादव खरेल, महाकाव्यकार रमेश खकुरेल, कवि वंशी श्रेष्ठ, बालसाहित्यकार कन्हैया नासननी, ललितकलाकार के. के. कर्माचार्य, साहित्यिक पत्रकार मोहन दुवाल र गायक मच्छेश्वर सापकोटा हुनुहुन्छ । उहाँहरुलाई विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, कूलपति डा. भोला थापा तथा रजिष्टार डा. अच्युत वाग्लेले दोसल्ला ओडाउँदै सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

मङ्गलबार काठमाडौं विश्वविद्यालय धुलिखेलको सीभी रमण हलमा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले सम्मानित हुनेहरुको योगदानको चर्चा गर्दै उहाँहरु काभ्रेका मात्र नभइ देशकै प्रतिष्ठित व्यक्तित्व रहनुभएको बताउनुभयो । शिक्षा भनेको कहिल्यै नमर्ने र कहिल्यै नसकिने चीज भएकाले उहाँले आआफ्नो ठाउँबाट देश र समाजलाई सूसूचित गराउन उल्लेख्य भूमिका खेल्नुभएको शर्माको भनाइ थियो । पछिल्लो पुस्ताले पनि यस्ता कार्यमा आफूलाई लगाउनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा विश्वविद्यालयका उपकूलपति डा. भोला थापाले काभ्रे आफैंमा साधकहरुको जन्मभूमी भएकाले हरेक क्षेत्रमा रहेका व्यक्तित्वहरुलाई उत्तिकै महत्व दिएर आगामी दिनहरुमा पनि यसरी नै सम्मान गर्न विश्वविद्यालय अग्रसर रहेको बताउनुभयो । सबै क्षेत्रमा रहेर योगदान पुर्याउनु हुनेलाई विश्वविद्यालयले गर्ने सम्मानलाई निरन्तरता दिइने पनि उहाँले जानकारी दिनुभयो । उपस्थितहरुलाई विश्वविद्यालयका रजिष्टार डा. वाग्लेले स्वागत गर्नुभएको थियो भने कार्यक्रम साहित्यकार हरि मञ्जुश्रीले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *