ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं । देशका विभिन्न भागमा गत असोज महिनामा भएका सवारी साधन दुर्घटनामा २४७ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार २ हजार ७५७ वटा सवारी साधन दुर्घटना भएका थिए । दुर्घटनामा संलग्न सवारी साधनको संख्या भने ३ हजार ९४७ रहेको छ । जसमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारी साधन रहेको प्रहरीले जनाएको छ ।
२ हजार ४६७ वटा मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका थिए । १२५ वटा बस र ५५५ वटा कार, जीप दुर्घटना परेको तथ्यांक छ । एक महिनामा १४९ वटा ट्रक, टिपर, ६५ वटा ट्याक्टर, २६८ वटा रिक्सा, ३२५ वटा टेम्पो, ५ वटा डोजर, स्काभेटर र १८ वटा सवारी साधन नखुलेका दुर्घटना भएका छन् ।
जसमा २४७ जनाको मृत्यु हुँदा ४ हजार ३७ सामान्य घाइते र ८४८ जना गम्भीर घाइते भएका तथ्यांक छ । मृत्यु हुनेमा १८६ पुरुष तथा ६१ जना महिला रहेका छन्, जसमा १२ जना बालबालिका रहेका छन् ।
अधिकांश दुर्घटनाहरु तिब्रगतिमा सवारी चलाउँदा भएका छन् । यसबाट १ हजार ५३८ वटा दुर्घटना भएका छन् । यस्तै चालकको असक्षमताका कारण पनि धेरै दुर्घटना हुने गरेका प्रहरीको तथ्यांकले देखाएको छ । यसबीचमा २०७ वटा दुर्घटना मापसेका कारण भएको छ । हतारमा बाटो काट्दा र अनावश्यक ओभरटेक गर्दा पनि दुर्घटनाहरु भएका छन् ।
असोजमा बिहान ६ बजेदेखि १२ बजेसम्मको समयमा १९.७३ (५४४ वटा) प्रतिशत दुर्घटना भएका थिए । यस्तै दिउँसो १२ देखि साँझ ६ बजेसम्म ३६.६० (१,००९ वटा), साँझ ६ बजेदेखि राति १२ बजेसम्म ३७.६९ प्रतिशत (१,०३९ वटा), राति १२ बजेदेखि बिहान ६ बजेसम्म ५.९५ (१६४ वटा) र समय नखुलेका ०.०४ प्रतिशत (१ वटा) दुर्घटनाहरु भएका प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
एक महिनामा ३३ हजार २२६ वटा सवारी साधन कारबाहीमा परेका छन् । जसबाट ३ करोड १३ लाख ७३ हजार ५०९ राजस्व संकलन भएको प्रहरीको तथ्यांक छ ।
प्रदेशगत रुपमा असोजमा कहाँ कति मुद्दा दर्ता भए ?
नेपाल प्रहरीले असोजमा भएका मुद्दा दर्ताको प्रदेशगत विवरण सार्वजनिक गरेको छ ।
जसमा एक महिनामा ३ हजार ९१२ वटा मुद्दा दर्ता भएको देखिन्छ । सबैभन्दा धेरै बागमतीमा १ हजार २७ वटा दर्ता भएका छन् । मधेस प्रदेशमा ७८५ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १७१ वटा मुद्दा दर्ता भएको देखिन्छ ।
यसैगरि कोशीमा ६३९ वटा, लुम्बिनीमा ६५८ वटा दर्ता हुँदा गण्डकीमा ३३२ वटा र सुदुरपश्चिममा ३०० वटा मुद्दा दर्ता भएका छन् ।
सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । एक महिनामा ६२६ वटा यस्तो मुद्दा दर्ता भएका प्रहरीको तथ्यांक छ । यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्ध ५२५ वटा, आत्महत्याका ५९५ वटा, चोरीका २३४ वटा मुद्दा दर्ता भएका छन् । यसैगरि लागूऔषध २३०, सवारी ज्यान १६९, जबरजस्ती करणी १५७, ठगीका १३९, ज्यान मार्ने उद्योगका १२८ र आपराधिक प्रवेश तथा उपद्रवसम्बन्धी ७० वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
आगलागीका १८५ घटना
यसैबीच असोजमा आगलागीका १८५ घटना भएको प्रहरीले जनाएको छ । जसमा ५३ वटा घर र १९ वटा गोठ जलेका छन् । २० वटा चौपाय क्षति भएका छन् ।
आगलागीमा ५ करोड १४ लाख बराबरको आर्थिक क्षति भएको छ । एक जनाको मृत्यु हुँदा २२ जना घाइते भएका छन् । कोशी प्रदेशमा ४२, मधेसमा ४०, वागमतीमा २५ र गण्डकी प्रदेशमा १८ वटा घटना भएका प्रहरीले जनाएको छ । यस्तै लुम्बिनीमा ३०, कर्णालीमा १२ र सूदुरपश्चिममा १८ वटा आगलागीका घटना भएको तथ्यांक छ । देशभर १० परिवार विस्थापित भएका छन् ।
मादक पद्धार्थ सेवनबाट २०७ वटा सवारी दुर्घटना
असोजमा चालकले मादक पद्धार्थ सेवन गरेर सवारी संचालन गर्दा २०७ वटा दुर्घटना भएका छन् । कोशीमा ३७ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु र ६४ जना घाइते भएका छन् । मधेसमा ११ वटा दुर्घटना हुँदा १ जनाको मृत्यु र १४ घाइते, वागमतीमा ३४ वटा दुर्घटनामा १ जनाको मृत्यु र ५६ जना घाइते भएको तथ्यांक छ ।
यस्तै गण्डकीमा ६ वटा दुर्घटनामा ५ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । लुम्बिनीमा १०८ दुर्घटनामा ६ जनाको मृत्यु र १९९ जना घाइते, कर्णालीमा ६ वटा दुर्घटनामा ९ जना घाइते र सूदुर पश्चिममा ५ वटा दुर्घटनामा २ जनाको मृत्यु ४ जना घाइते भएको तथ्यांक नेपाल प्रहरीले दिएको छ । कूल १६ जनाको मृत्यु र ३५२ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *